जन्तीको बस दुर्घटना, १६ घाईते ५ को अवस्था गम्भीर

तराई टप संवाददाता
रौतहट, १० जेठ । जन्ती बोकेको बस वाराको डकाहामा दुर्घटना हुँदा १६ जना घाईते भएको छ भने ५ जनाको अवस्था गम्भीर रहेका छन् ।
रौतहटको गुजरा नगरपालिकाको खतवैयाबाट जितपुरसिमरा उपमहानगरपालिका १६ डकाहामा जन्ती बोकेको बस सोमवार विहान १० बजेको समयमा दुर्घटना भएका हुन् । ना४ ख ४७४९ नम्बरको यात्रुबाहक बसमा रौतहटको गुजराबाट जन्ती लिएर जाँदै गर्दाको अवस्थामा दुर्घटना हुँदा १६ जना घाईते मध्ये ५ को अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय वाराले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि तत्कालै एम्बुलेन्सबाट कलैया अस्पताल तथा नेस्नल मेडिकल कलेज विरगजं पठाइएको जानकारी प्रहरीले दिएको छ । दुर्घटनामा वसका सहचालक ३८ बर्षिय मुस्ताक खानको दाहिने खुट्टा काटिएको छ, भने १२ बर्षिय रियाजुल लहेरी, गौरिशंकर विश्वकर्मा, जाकिर लहेरी, आवास लहेरी गम्भिर घाइते भएकोमा उनीहरुलाई नेशनल मेडिकल कलेज विरगंजमा पठाएर उपचार भईरहेका छन् । घाइतेमा केहीको टाउको, हात तथा खुटामा चोट लागेको छ । अन्य घाईतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराको प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
खतबैयाको मुस्लिम टोलबाट जन्ती लिएर बाराको जीतपुरसिमरा उपमहानगरपालिका १९ को बहडिलवा जाँदै गरेको बस तिव्र गतीमा गुडिरहेको कारण दुर्घटनामा उक्त घटना भएको आशंका प्रहरीले व्यक्त गरेको छ । बसमा केटाकेटी सहित करिब ३० भन्दा बढि जन्ती रहेको डिएसपी मिश्रले भने । दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको समेत स्पष्ट पारे ।