जसपा नेपाल फुटको संघारमा, प्रदेश २ को सरकार हेरफेर हुने प्रवल सम्भावना

   १० जेष्ठ २०७८, सोमबार १४:३१  

तराई टप संवाददाता
रौतहट, १० जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रिय समितिको समायोजन प्रक्रिया पुरा नहुँदै फुटको संघारमा पुगेको छ ।
जसपा फुटको वेनिफिट काँग्रेस र माओवादी केन्द्रलाई फाइदा पुग्ने विश्वास विश्लेष्कहरुको रहेको हो । त्यसको प्रत्यक्ष असर प्रदेश नम्वर २ सरकारमा पर्ने देखिन्छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले अध्यक्ष महन्थ ठाकुर सहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरे सँगै प्रदेश नम्वर २ को राजनीतिमा तरंग आईपरेको छ । उपेन्द्र–बाबुराम पक्षधर जसपाको कार्य कारणी समितिको बैठकले पार्टी अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए पार्टीबाटै निष्कासन गर्ने निर्णय पछि प्रदेश २ को सत्ता समीकरण फेरबदल हुने निश्चित भएको आकलन गर्न सकिन्छ ।
जसपाको एकल सरकार रहेको प्रदेश २ मा ठाकुर र महतो पक्षधर मन्त्रीलाई हटाएर कांग्रेस, एमालेको माधव नेपाल समूह र नेकपा माओवादी माओवादी केन्द्र सम्मिलित गठबन्धनको सरकार निर्माणका लागि छलफल सुरु भईसकेका छन् । तत्कालीन राजपाबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका जितेन्द्र सोनललाई हटाउन जसपा अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई निर्देशन दिइसकेको श्रोतले बतायो ।
त्यसैगरी तत्कालीन राजपाबाटै उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेका सुरेश मण्डल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झालाई पनि हटाउने तयारी भईरहेको बताइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै