तराई टप संवाददाता
पर्सा, १२ जेठ । चर्चित बलिवुड अभिनेत्री मनिषा कोइराला र वीरगञ्ज महानगरपालिकाले नारायणी उप क्षत्रिय अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गरेका छन् ।
पर्सा, वारा, रौतहटका विरामीहरुको लागि सहज एवं पायक पर्ने स्थान वीरगञ्ज स्थित नारायणी उप क्षेत्रिय अस्पतालमा १४५ वेड कोरोना संक्रमितको उपचारको लागि छुट्याइएकोमा हाल १०५ कोरोना संक्रमितको उपचार भईरहेका हुन् ।
बुधबार अभिनेत्री मनिषा कोइरालाले पठाएको ४ थान नन इन्भेसिभ भेन्टिलेटर (सिप्याप), पीपीई सेट, फेसशिल्ड, मास्क १÷१ सय थान र फुल फेस मास्क ३ थान हस्तान्तरण गरियो । उक्त सामग्री तथा उपकरण समाजसेवी रामनारायण कुर्मीले अस्पताल परिसरमा पुगेर अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभलाई हस्तान्तरण गरे ।
कुर्मीले पैसा र पहुँच नहुने मानिस उपचारको अभावमा अकालमा मृत्यु हुने अवस्था आउन नदिन उद्देश्यबाट स्वास्थ्य सामग्रीको हस्तान्तरण गरिएको बताए । बुधबार नै वीरगञ्ज महानगरपालिकाले ३ थान इन्भेसिभ भेन्टिलेटर सहयोग गरेको नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए ।