विहे गर्छु भन्दै २० दिन सम्म किशोरी संग शारीरिक शोषण गर्ने युवक विरुद्ध अपहरण, शरिर बन्धक तथा जबरजस्ती करणी मुद्दा दर्ता

   १८ जेष्ठ २०७८, मंगलवार २०:५२  

तराई टप संवाददाता
सर्लाही, १८ जेठ । विहे गर्ने प्रलोभन दिई एक १७ बर्षिया दलित समुदायको किशोरीलाई २० दिन सम्म राखी पुन ः उसको घर फर्काएको घटनापछि पिडिता पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा अपहरण तथा शरिर बन्धक र जबरजस्ती करणी सम्बन्धी मुद्दामा किटानी जाहेरी दर्ता गराएकी छिन् ।
सर्लाहीको विष्णुपुर गाउँपालिका ७ दुलवा बस्ने १९ बर्षिय युवक शिवकुमार यादवले गाउँकै १७ बर्षिया मुसहर समुदायको किशोरीलाई विहे गर्छु भनेर घरबाट भगाई वाराको जितपुरमा २० दिन सम्म संगै राखेर किशोरीलाई १५ दिन अघि उनकै घरमा ल्याएर भागेको घटना सार्वजनिक हुँदा पिडिता किशोरी पक्षबाट युवकलाई छोरी राख्न भन्दा पनि राख्न नमान्दा बाध्य भएर युवक यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा अपहरण तथा शरिर बन्धक र जबरजस्ती करणी सम्बन्धी मुद्दामा किटानी जाहेरी दर्ता गराएकी हुन् ।
किशोरीका परिवारलाई पीडक पक्षबाट निरन्तर रुपमा विभिन्न प्रलोभन एवं धम्की दिने कार्य भइरहेका छन् । पिडिता किशोरीको आमा बुवा घरमा पस्न नदिदा युवक शिवको घरमा गए तर शिवको परिवारले समेत तल्लो जातको भन्दै घरमा भित्रन नदिदा किशोरी विचल्लीमा परे ।
परिवारको दवावमा युवक यादवले किशोरीलाई वाराको जितपुरबाट ल्याएर आफनो गोठमा राखि शिवा फरार भएको पीडिता किशोरीले बताएकी छिन् । किशोरीलाई शिवको परिवारले पनि अमानवीय व्यबहार गर्दै गोठमै बस्न बाध्य बनाए उनले भनिन । दलित संजाल मार्फत ति किशोरीलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको टोली, महिला शान्ति केन्द्रकी प्रमुख बनिता कार्की लगायतको टोलीले किशोरीलाई गोठबाट उद्धार गरी गत शनिवार मलंगवा ल्याइएको दलित अगुवा राजेश पासवानले जानकारी दिए ।
पिडिता किशोरीलाई हाल मलंगवा नगरपालिकाले सञ्चालन गरेको महिला शान्ति केन्द्र (सेफ हाउस) मा राखिएको छ । निरक्षर एवं अत्यन्त गरिब दलित समुदाय भएकाले केटाको पक्षबाट किशोरीका अभिभावकलाई प्रलोभन एवं धम्की आउन थालेको पीडित परिवारले बताए । “किशोरीकी आमाले केटा पक्षबाट किटानी जाहेरी नदिनु यदी दिएमा जेसुकै हुने भन्दै धम्की दिदै आएको गुनासो गरिन ।” “समाजका केही अगुवाहरुले मिल्नु बाहेक कुनै विकल्प नहरेको हुँदा उजुरी नगर्न वारम्वार दवाव आईरहदा हामी के गरौं उनले भनिन ।”
“दुई लाख रुपैंया लिएर मिल्नु भनिरहेका छन्, नमिले अफ्ठ्यारो हुने भन्दै धम्की पनि दिईरहेका छन, स्थानीय दलित नेता राजन वैठा पनि केटा पक्षबाट पीडित पक्षलाई पैसाको प्रलोभन अनि धम्की समेत आईरहेको हुँदा जसरी भएपनि पैसाको वलमा कुनैपनि अवस्थामा सम्झौता नहुने अडान उनले लिएको बताए ।”
पीडित किशोरी पक्ष तथा दलित अधिकारकर्मीहरुले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको स्वीकार गर्दै सर्लाही प्रहरीका एसपी सन्तोष सिंह राठौरले उक्त जाहेरी दर्ता समेत भईसकेको जानकारी दिए । जाहेरी दर्ता भई अनुसन्धान कार्य प्रारम्भ भईसकेको हुँदा पिडक युवक यादवको खोजतलास भईरहेको तथा कानुन अनुसार कारवाही प्रक्रिया अगाडी बढीसकेको हुँदा पिडितालाई न्याय दिलाएर छाड्ने प्रतिबद्धता जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै