चोरीको बाइकमा सेतो राखेर चलाइरहेका सशस्त्र प्रहरीका इन्सपेक्टर पक्राउ

   ५ बैशाख २०८०, मंगलवार १८:१६  

सर्लाही, ५ वैशाख । चोरीको मोटरसाइकल सहित सशस्त्र प्रहरीका एक जना इन्सपेक्टर पक्राउ परेको छ ।
चोरी भएका टिभिएस अपाचे मोटरसाइकल सहित खुटौना बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरीका इन्सपेक्टर अंगद खड्कालाई पक्राउ गरिएको हो ।
उक्त चोरीको माटरसाइकल चढेर सशस्त्र प्रहरीका इन्सपेक्टर खड्का सहित अर्का एक जना सशस्त्र प्रहरी जवान सहित पेट्रोल लिन मलंगवा नपा ४ शिवसागर चोकमा रहेका नुतन आयल स्टोर्समा पुगेपछि सवारी धनीले आफनो मोटरसाइकल चिनेर इन्सपेक्टर संग सोधपुछ गरेपछि प्रहरीलाई खवर गर्दा दुबैजनालाई नियन्त्रणमा लिएको बताइएको छ । सवारी धनी मलंगवा नगरपालिका ९ का राकेश राउत पटेलले गत फागनु १२ गते प्रदेश–२–०२–००३ प ७७२९ नम्बरको मोटरसाइकल चोरी भएको भोली पल्ट जिल्ला प्रहरी कार्यालय मलंगवामा उक्त नम्वरको मोटरसाइकल चोरी भएको भन्दै खोजत गरिदिन लिखित निवेदन दिएका थिए ।
सबारी धनी पटेल नुतन आयल स्टोर्समा कार्यरत कर्मचारी हुन् । सशस्त्र प्रहरीले सर्लाहीको व्यस्त बजारबाट चोरी भएको मोटरसाइकललाई सवारी धनीलाई फिर्ता दिनुको साटो गैरकानुनी कार्य गरी उक्त मोटरसाइकलमा सेतोमा बा–२ ब ९७२६ सरकारी नम्बर प्लेट राखेर निर्वाध रुपमा चढदै आएका थिए ।
आफ्नो मोटरसाइकल देखेपछि पटेल सबारी साधनको कागजपत्र सित मिलाउँदा इन्जिन र चेचिस नम्बर समेत मिलेपछि आफ्नो चोरी भएको गाडीमा सरकारी नम्बर प्लेट किन लगाएको भनी सशस्त्र प्रहरी निरिक्षक संग प्रश्न सोधे । पटेलले मेरो निजी मोटरसाइकलमा सरकारी नम्बर प्लेट चढाएकोमा प्रश्न गरेपछि सशस्त्र प्रहरीका इन्सपेक्टर खड्का मोटरसाइकल छाडेर भाग्ने प्रयास गर्दा स्थानीयहरुले निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मलंगवालाई खवर गरेका थिए ।
सशस्त्र प्रहरीका इन्सपेक्टर खड्कालाई केही दिन अघि नै पक्राउ गरेपनि भित्रभित्रै मिलाउने खेल भईरहेको र निजलाई . चोख्याउने खेल भएको पीडितले गम्भीर आरोप लगाएका छन् ।
मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका इन्सपेक्टर खड्काको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी नरेशराज सुवेदीले स्थानीय बासिन्दाहरुद्धारा पक्राउ गरेर हामीलाई जिम्मा लगाएको स्वीकार गरे । त्यस सम्बन्धमा हामी गहन छानविन एवं अनुसन्धान गरिरहेको स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै