रौतहट, १९ जेठ । एक दिवसिय र टि २० विश्वकपमा टिमको संख्या बढ्ने भएको छ ।
आइसिसिका अनुसार सन् २०२४ देखि २०३१ सम्मको निर्धारण गरिएको साइकलमा एकदिवसीय विश्व कपमा १४ र टी २० विश्व कपमा २० टिम सहभागी हुने छ ।
तयार पारिको साइकल अन्तर्गत सन् २०२७ र २०३१ को एकदिवसीय विश्वकप क्रिकेटमा १४ टिमले प्रतिस्पर्धा गर्ने छ । अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले एकदिवसीय विश्वकपमा सहभागि संख्या बढाउने निर्णय गरेको हो । पछिल्लो समय प्रतिस्पर्धात्मक बनाउन विश्वकपमा १० टिमलाई मात्र सहभागि गराइएको थियो । सन् २०२३ मा हुने एकदिवसीय विश्वकपमा पनि १० टिमले मात्र खेल्ने तय छ ।
यस्तै, २०२४ मा हुने टी २० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । आइसीसीले सन् २०२४, २०२६, २०२८ र २०३० को टी २० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ । यस्तै ८ टिम सहभागि हुने च्याम्पियन्स ट्रफी २०२५ र २०२९ मा हुनेछ ।
टी२० विश्वकपमा ५–५ टिमको चार समूह हुनेछ । चार समूहको शीर्ष दुई टिम सुपर एटमा प्रवेश गर्ने आइसीसीले जनाएको छ । त्यसपछि नकआउटमा स्टेजमा खेल हुनेछ । विश्वकपमा टिम संख्या बढ्ने भएपछि नेपाल लगायत एसोसिएट राष्ट्रलाई समेत फाइदा पुग्नेछ । नेपालले सन् २०१४ मा पहिलो पटक टी२० विश्वकप खेलेको थियो । तर त्यसयता टी २० विश्वकपमा छनोट हुन सकेको छैन । एकदिवसीय विश्वकपमा भने नेपाल छनोट हुन सकेको छैन ।
सन् २०२२ को टी २० विश्वकपका लागि नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट भइसकेको छ । २०२३ को एकदिसवीय विश्वकपमा लागि भने नेपालले क्रिकेट विश्वकप लिग २ को सिरिज खेल्दैछ । तर कोरोना महामारीका कारण नेपालले खेल्ने सिरिजहरु स्थगित भएको छ ।