रौतहट, १९ जेठ । दरवार हत्याकाण्डको आज २० बर्ष पुरा भएको छ तर अहिले सम्म हत्याकाण्डको वास्तविकता सार्वजनिक नभई रहस्यमय बनेको छ ।
२०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवार भित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्ने गरी भएको हत्याकाण्डको २० वर्ष वितिसक्दा पनि अझै सत्यतथ्य एवं बास्तविकता सार्वजनिक हुन सकेको छैन ।
पारिवारिक जमघट गुड फ्राइडेको अवसरमा गेटटुगेडर पार्टी चलिरहेकै समयमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो ।
हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोलीले उडाएको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेका थिए ।
तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गरेपनि आम नेपाली जनताहरु उक्त प्रतिवेदनमा दोषि ठहराइएको कुरालाई विश्वास गरेका छैनन अझै सो हत्याकाण्डको रहस्य गर्भमै लुकेको छ ।
प्रधानन्यायाधीश संयोजकत्वको समितिपछि उक्त घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । तर बेलाबेलामा सरकारी तवरबाटै यसको छानविनको माग भने उठ्ने गरेको पाइन्छ । यद्यपि राजनीतिक प्रतिशोधका कारण यस्ता माग उठ्ने गरेको भए पनि यस हत्याकाण्डको सत्य घटना सार्वजनिक गर्नेतर्फ चासो दिने गरेको पाइँदैन ।
तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको दोस्रो मन्त्रिपरिषदमा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने कुरा उठाएका थिए । त्यतिबेला यो प्रस्ताव मन्त्री परिषद्सम्म पुगेको भएपनि पछि त्यसै सेलायो ।