तराई टप संवाददाता
रौतहट, १९ जेठ । जिल्ला प्रशासन कार्यालय रौतहटमा कोभिड १९ संकट व्यवस्थापन नियन्त्रण सम्बन्धि बैठकले जेठ १९ गते मध्य राति देखि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन नियन्त्रण समितिको संयोजक तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकबाट कोरोना संक्रमितहरुको संख्यामा सुधार आउदै गरेको भएपनि पूर्ण रुपमा नियन्त्रणमा ल्याउनका निमित्त बुधवार मध्य राति देखि थप एक साताको लागि निषेधाज्ञा बढाउने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय रौतहटले आज जारी गरिएको सूचना अनुसार १९ गते राति १२ बजेदेखि लागु हुने गरी जेठ २६ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको हुँदा उक्त निर्णयलाई पलना गरेर महामारी नियन्त्रणमा स्थानीय प्रशासनलाई सहयोग पुर्याउन जिल्ला बासी संग आग्रह गरिएको छ, कोरोना संक्रमित हुने क्रममा निरन्तर रुपमा घटिरहेपनि पूर्ण रुपमा रोकथामको लागि निषेधाज्ञा जारी गरिनुपर्ने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
निषेधाज्ञालाई कडाइका साथ पालना गराउन जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । कोरोना संक्रमणको विषम परिस्थितिमा नेपाल सरकारद्धारा अध्यायदेश जारी गरेर कडाइका साथ निषेधाज्ञाको पालना गराउने प्रमुख जिल्ला अधिकारी यादवले बताए । निषेधाज्ञाको अवज्ञ गरेमा १ बर्ष कैद, ५ लाख सम्म जरिवाना वा दुवै हुन सक्ने जनाइएको छ । रौतहटका आम नागरिकहरुले पुर्ण रुपमा निषेधाज्ञाको पालना गर्नु पर्ने अन्यथा अध्यादेशमा तोकिए बमोजिम कारवाही हुने जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।