तराई टप संवाददाता
रौतहट, २६ जेठ । रौतहट प्रहरीले श्रोत नखुलेको ३० लाख ७६ हजार नेपाली रुपैया सहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
रौतहटको परोहा नगरपालिका ९ रामपुरखापमा भारतबाट आउदै गरेको बिआर ०५ आर४५२१ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार २ युवकका साथ बाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्लाको घोडासान बस्ने बन्टी कुमार कलवार र सुरज कलवार रहेको प्रहरी उपरिक्षक सिद्धि विक्रम शाहले बताए । पक्राउ परेका बन्टी कुमारले सो रकम राजपुरको एक चिमनी भट्टामा पु¥याउन आएको बताए ।
शरीरको विभिन्न भागमा र झोलामा समेत लुकाएर ल्याउदै गर्दा बरामद भएको उक्त रकमको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक शाहले बताए ।
हाल सम्म एक करोड भन्दा बढी रकम बरामद
यस आर्थिक वर्षमा सिमाक्षेत्रमा प्रहरीले एक करोड भन्दा बढी रकम बरामद गरेको छ । भारतीय सिमा क्षेत्रबाट नेपाल भित्राउदै गरेको अवश्था १ करोड १७ लाख ८६ हजार रुपैंया बरामद भएको उपरिक्षक शाहले बताए ।
प्रहरीको चेकजाँचका क्रममा ९ पटक यसरी श्रोत नखुलेका रकम ओसार पसार गर्ने १२ जना पक्राउ परेको उनले बताए । कोरोना संक्रमणका बेला सिमानाका बन्द भएको समय भारत तर्फ रहेको नेपाली रकम अवैध तरिकाले भित्राउने र नेपाल भित्र हुण्डी कारोबार गर्नेहरु पक्राउ परेको उपरिक्षक शाहले बताए । पक्राउ परेको दुई जना भरियाले प्रति लाख २०० को दरले दिने सर्तमा भारतबाट उक्त लिएर नेपाल प्रवेश गरेको स्वीकार गरे । पक्राउ परेका दुवैजनालाई नोट सहित गौर भन्सार कार्यालयमा आवश्यक कारवाहीको लागि बुझाएको जानकारी दिए ।