निषेधाज्ञामा खुकुलोपना, स्वास्थ्यको मापदण्ड पुरा गरेर दैनिक उपभोग्यको पसलहरु दैनिक खुला रहने

तराई टप संवाददाता
रौतहट, ३१ जेठ । कोभिड १९ महामारीको संक्रमण हुने जोखिम कायमै रहेपनि स्वास्थ्यको मापदण्डहरु अवलम्वन गरेर बजार व्यवसाय, वैंकिंग क्षेत्रलाई खुकुलो पार्दै निषेधाज्ञालाई असार ७ गते सम्मको लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सोमवार जिल्ला प्रशासन कार्यालय रौतहटमा बसेको वैठकबाट एम्बुलेन्स, खानेपानी, विद्युत, स्वास्थ्य, टेलिकम, खाद्यान्न, तरकारी, बजार व्यवसाय, फलफुल, सहित वैकिंग क्षेत्रका सेवाहरु सातै दिन खुला गर्ने गरी अन्य सेवाहरुको हकमा निषेधाज्ञा आउदो असार ७ गते सम्म थप गरिएको हो ।
वैवाहिक, व्रतबन्ध लगायतको कार्यक्रममा समाजिक दुरी कायम राख्दै बढीमा २५ जना उपस्थित रहने, अत्यावश्यक निर्माणका सामग्रीहरु ढुवानीका लागि स्वास्थ्यको मापदण्ड पुरा गरेर आवतजावत गर्ने, माछामासुको पसल खोलेर विक्री गर्न नपाउने तर होम डेलिभरीको व्यवस्थपन गर्ने, होटल रेष्टुरेन्टहरु होम डेलिभरी मात्रै गर्न पाउने, विकास निर्माण सम्बन्धमा आयोजनाहरुले अवासिय कामदारहरु राखि अनिवार्य रुपमा स्वास्थ्यको मापदण्ड पुरा गरेर योजना संचालन गर्न पाउने, स्वास्थ्यको मापदण्ड पुरा गरेर स्थानीय तहको पालिकाहरु न्युन कर्मचारीहरु राखेर कामकाज गरी नगर सभा÷गाउँ सभा गर्न पाउने, निर्माण सामग्रीको पसल खोल्न पाउने, दुई व्यक्ति विच कम्तीमा २ मिटरको दुरी कायम राख्नुपर्ने सहितको निर्णय भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
सार्वजनिक यातायात बस, टेक्सी, जिप, टेम्पु, निजी सवारी साधन चार र दुई पांग्रे संचालन गर्न नपाउने, हाट बजार लगाउन नपाउने, बाटोमा ठेला राखेर सामानहरु विक्री गर्न नपाउने सहितको असार ७ गते सम्म निषेधाज्ञालाई थप गरिएको जानकारी दिदै प्रजिअ यादवले खुकुलो बनाएको कार्यलाई नियमित रुपमा अनुगमन एवं पालना गराउनका निमित्त नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रशासनका कर्मचारीहरु अनुगमन एवं निरीक्षण गर्ने जस्ता निर्णयहरु भएको बताए ।
कोभिडलाई नियन्त्रण गर्न अत्यावश्यक परिवेश बाहेक अन्य समयमा घर बाहिर ननिस्कन आग्रह गर्दै कोभिडको दोश्रो लहर विस्तारै कम हुँदै गएको भएपनि यसबाट सजग एवं सचेत रहन जिल्लाबासी संग प्रजिअ यादवले आग्रह गरे ।