छुरा प्रहार गरेर यार महम्मद खानको हत्या

रौतहट, ६ जेठ । धारिलो छुरा प्रहार गरेर शुक्रवार राति गौर नगरपालिकामा एक जना पुरुष व्यक्तिको हत्या गरिएको छ ।
गौर नगरपालिका वडा नम्वर ७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानलाई गएराति १०.२० बजेको समयमा धारिलो छुरा प्रहार गरेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
यार महम्मद गएराति खाना खाएर घर बाहिर घुमफिर गर्न निस्किएको समयमा छिमेकी शेख कादिर बिच कुनै विषयलाई लिएर सामान्य बादविवाद भएपछि कादिरले खल्तीबाट धारिलो छुरा निकालेर महम्मद माथि प्रहार गरेका थिए । कादिरल खानको बायाँ छातीमा छुरा प्रहार गर्दा गम्भीर घाईत भएपछि तत्कालै अन्य छिमेकी तथा उनका घरपरिवारका सदस्यहरु प्रादेशिक अस्पताल गौरमा पुर्याउदा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । छुरा प्रहार गरेर कादिर फरार भएको हुँदा निजको व्यापक रुपमा खोजी कार्य भईरहेको तथा मृतकको शव पोष्टमार्टम गरेर सम्बन्धित परिवारलाई शव जिम्मा लगाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर यादवले बताए ।