जिउदो व्यक्तिलाई बोरामा प्याक गरी इटाभट्टामा हालेको स्वीकारे हेड मिस्तीरी सहनी

   १८ आश्विन २०७७, आईतवार १५:१२  

रौतहट, १८ असोज । १२ बर्ष अघि रौतहटको राजपुर नगरपालिकाको फरदहवामा भएको बमकाण्डमा मृत्यु भएको र घाईते व्यक्तिहरुलाई बोरामा प्याक गरी इटा भट्टामा हालेर जलाएको इटा भट्टाका प्रमुख मिस्तीरी बद्री सहनीले आरोप स्वीकार गरेको जनाइएको छ ।
प्रदेश २ प्रहरी र बारा प्रहरीको संयुक्त प्रयासमा असोज १६ गते रौतहटको बौधीमाई नगरपालिकाको बडकी बंकुल स्थित नेपाल भारत सिमा क्षेत्रबाट पक्राउ परेका वारा सिम्रौनगढ नगरपालिका वडा नम्वर ४ का ५५ बर्षिय हेड मिस्तीरी साहनी संग प्रहरीले लिएको प्रारम्भिक बयानको आधारमा आरोप स्वीकार गरेको हो ।
इटाभट्टामा हेड मिस्तीरीको रुपमा कार्यरत साहनीले वन विस्फोटको घटनामा कुनै संलग्नता नरहेपनि इटा भट्टामा घाईते र मृतकलाई जलाउने घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक बयानमा सहनीले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री समेत रहेका मोहम्मद आफताफ आलम र उनका भाइ मोहम्मद मोहताव आलमको निर्देशनमा उनीहरूले नै ल्याएका शवलाई इटाभट्टामा डढाएको प्रारम्भिक बयान दिएका छन ।
प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक धिरेन्द्र प्रताप सिंहका अनुसार प्रारम्भिक बयानमा मोहम्मद आफताफ आलम र उहाका भाइ मोहमद मोहताव आलमले शवहरू जलाउन भनेपछि सहनी सहितको केही व्यक्तिले शवलाई इटा भट्टामा हाल्ने काम गरेको बयान दिएका हुन । उक्त घटनामा शव व्यवस्थापनको मुख्य भूमिका निर्वाह गरेका सहनीले पनि कति जनालाई भट्टामा जलाइएको हो भन्ने बारेमा अहिलेसम्म केही बताएको छैनन ।

 


सहनीले प्रहरीलाई दिएको वयानमा शव इटाभट्टामा हालेको भएपनि कति जनालाई हाल्यो भने नखुलाएको प्रहरी नायव महानिरिक्षक सिंहले बताए । राजपुर बमकाण्डमा घाईते भएका रौतहट यमुनामाई सरुअठाका पिन्टु भनिने त्रिलोकप्रताप सिंहको वुवा श्रीनारायण सिंहले सर्र्वोच्च अदालतमा रिट हालेर अफताव आलम सहित ११ जना माथि किटानी जाहेरी दिदा २०७६ साल असोज २६ मा उनलाई पक्राउ गरी सरकारी वकिलको कार्यालय मार्फत अदालतमा पेश गरिएका थिए । जिल्ला अदालत रौतहटको आदेश पुर्पक्षका लागि उनलाई कारागार चलान गरिदा उनलाई गौर कारागार हुँदै अहिले केन्द्रीय कारागारमा रहेका छन् ।
राजपुर घटनाका प्रत्यक्षदर्शीले बम विस्फोटमा घाईते र मृतक गरी २३ जना घाइतेलाई जिउँदै इटाभट्टामा हालेको बताउँदै आएका छन तर अहिले सम्म दुई जनालाई मात्र इटाभट्टामा जलाइएको पुष्टि भएको छ ।
नेपाल काँग्रेसका तत्कालिन वरिष्ठ नेता स्व. शेख इद्रिशको गोठमा पहिलो संविधान सभाको निर्वाचनको पूर्व संध्यामा २०६४ साल चैत २८ गते साँझ ७ बजेको समयमा मतदान केन्द्र कब्जा गर्ने उद्देश्यबाट बनाउदै गरेको बम असावधानीका कारण विस्फोट हुँदा घटनास्थलमै तिन जनाको मृत्यु भएका थिए भने डेढ दर्जन भन्दा बढि व्यक्ति गम्भीर घाईते भएको थियो । घटनालाई लुकाउन तात्कालिन स्थानीय प्रहरी प्रशासनको मिलोमतोमा रकमी चलखेलको आधारमा मृतक र घाइते व्यक्तिहरुलाई जिउदै ‘बोरामा पोको पारेर ल्याएका शव इटाभट्टामा राख्ने काम सहनीले आफताव र महतावको निर्देशनमा गरेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै