तराई टप संवाददाता
रौतहट, ८ असार । कुहिएको एवं मानव स्वास्थ्यलाई हानिकारक हुने अखाद्य ११२५ किलोग्राम चालम विक्री गर्न लगिरहदा रौतहटको राजपुर नगरपालिकाबाट नेपाल प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोलीले असार ४ गते राजपुर नगरपालिका वडा नम्वर ३ मा ना.२त. २४६१ नम्वरको ट्रेक्टरलाई नियन्त्रणमा लिदा ४५ बोरा कुहिएको किरा लागेको चामल नियन्त्रणमा लिएका थिए ।
राजपुर नपा ५ का ७७ बर्षिय एवं रिद्धी सिद्धी सेलर मिलका संचालक धरिछन साह विक्री वितरण गर्नका लागि गन्हाउने, किरा लागेको चालम लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलंगवा सर्लाहीका खाद्य निरीक्षक जगत चौधरीबाट चेक जाँच गराउदा चामलको अवस्था अखाद्य रहेको र थप परिक्षणको लागि नमूना संकलन गरिएको प्रहरी उपरिक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।
आवश्यक कारवाहीको लागि सेलर संचालक साहलाई जिल्ला प्रशासन कार्यालय पठाइएको तथा उक्त अखाद्य चामललाई राजपुर नपा स्थित बकैया खोलामा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । .