गौर भन्सार कार्यालयका पाँच जना नायब सुब्बाद्धारा गरिएको लिलाम प्रक्रिया त्रुटिपूर्ण

   ६ जेष्ठ २०८०, शनिबार १६:००  

रौतहट, ६ जेठ । ठूलो परिमाणमा भन्सार कार्यालयमा सुरक्षाकर्मीले बुझाएको रासायनिक मलको लिलाम प्रक्रिया धेरै त्रुटि पाइएको छ ।
गौर भन्सार कार्यालयमा कार्यरत नायव सुब्बाहरु संग स्थानीय एजेन्टले गरेको सेटिंगको आधारमा हतार हतारमा २० लाखको रासायनिक मल १० लाख २ हजारमा लिलाम गरेको रहस्य खोतल्दै जाँदा लिलामी प्रक्रियामा त्रुटी पाइएको हो ।
गत सोमबार भएको रासायनिक मलखाद लिलाम प्रक्रियामा गौर भन्सार कार्यालयका पाँच जना नायब सुब्बाको मिलोमतो रहेको पाइएको छ । भन्सार प्रमुख वासुदेव नेपाल विदामा रहेको बेला कार्यालयका पाँच जना नायब सुब्बाहरुले सबै कागजातहरु मिलाएर लिलाम गराउन प्रमुखलाई अन्तिम समयमा बोलाएर सही गर्न लगाएको भन्सार स्रोतबाट बुझिएको छ । जबकी मुद्दा प्रक्रिया पुरा गर्न निमित्तबाट नभई प्रमुख हुनुपर्ने प्रावधान रहेपनि अनियमित तवरबाट लिलामी भएको रहस्य सार्वजनिक भएका छन् ।
गोप्य सुचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले राजपुर नगरपालिका वडा नम्बर ५ बाट १३ सय ६ बोरा रासायनिक मल बरामद गरेर आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएका थिए । भारतबाट अवैध रुपमा तस्करी गरी गोदाममा थन्क्याइएको अवस्थामा व्यापक अवरोधका बिच चार राउन्ड अश्रुग्याँस हानेर बरामद गरेको रासायनिक मललाई भन्सार दाखिला गरेको रासायनिक मल सेटिंगको आधारमा लिलामी गरेपछि विवाद खडा भएको थियो ।
भन्सार कार्यालयका सुचना अधिकारी रेबती रोक्का सहित नायब सुब्बाहरु शिवहरी निरौला, नवीन कुमार ठाकुर, गजेन्द्र थापा, निशा सर्राफको मिलोमतोमा प्रमुख भन्सार अधिकृतको अनुपस्थितिमा लिलामी प्रक्रिया अघि बढाएका थिए ।
भन्सारमा थन्किँदा वर्षा भएर सबै गल्ने र राजस्व नउठ्ने बहाना बनाई भन्सारका पाँचै जना नासुहरुले सरसल्लाह गरी आफूलाई कार्यालयमा हाजिर भई लिलाम गराउन बारम्बार फोन गरेको प्रमुख बासुदेव नेपाल बताउँछन् । प्रमुख नेपाल भन्छन् – बारम्बार फोन आएपछि आफूले प्रक्रिया अगाडि बढाउन भनेको र अन्तिममा बेलुकी आएर हतारमा सही गरेको स्पष्ट पारे ।
भन्सार प्रमुख नेपालले कार्यालयमा काम गर्ने आफूलाई ’गुड फेथ’ मा लिएर सही गराएको तर गल्ती भएको स्वीकार गरेका छन् । भन्सारबाट लिलामीको प्रक्रिया सम्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटबाट छानबिनको लागि कागजपत्र माग गरिएको पत्र आएपछि आफूले कागजपत्र मिलाएर हेर्दा त्रुटि भएको पाइएको प्रमुख नेपालले भने ।
लिलाम प्रक्रियामा जय माता दी जेनरल सप्लायर्स गौर, जैएमडी सप्लायर्स गौर र जय मा दुर्गा सप्लायर्स राजपुरलाई समावेश गराइएको थियो तर तीमध्ये जय माता दी सप्लायर्स गौर र जेएमडी गौरलाई रासायनिक मलको कारोबार गर्ने अनुमति नै नभएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै