नेपालीलाई सुरक्षित खानेपानी र सरसफाइको पहुँचमा ल्याउन मन्त्री यादवले गरे प्रतिबद्धता

सर्लाही , ७ जेठ । संघिय सरकारको खानेपानी मन्त्री महिन्द्र राय यादवले दिगो विकास लक्ष्य अन्तर्गत खानेपानी तथा सरसफाइको क्षेत्रलाई विषेश प्राथमिकता राखेर नेपाली जनतालाई सुरक्षित खानेपानी र सरसफाइको पहुँचमा ल्याउन आफु लागिपरेको बताएका छन् ।
सर्लाहीमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, नेपालको संविधानले मौलिक हकको रुपमा स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच तथा स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको व्यवस्थालाई उच्च प्राथमिकता राखेर आफुले जनताको हितमा काम गर्ने बताए ।
मौलिक हकको व्यवस्था र खानेपानीको शुद्धताको सवालमा कसैसंग कुनै प्रकारको सम्झौता नगरिने प्रतिबद्धता समेत उनले जनाएका छन् ।
मन्त्री यादवले, उत्पीडन र विभेदमा परेका समुदायको न्याय, अधिकार, विकास तथा स्वाभिमानको लागि हिमाल, पहाड र मधेसलाई जोड्ने पार्टी नेपाल समाजवादी पार्टी रहेको बताए । संविधान, लोकतन्त्र, पहिचान र अधिकारको रक्षा, समानुपातिक, समावेशी प्रतिनिधित्व र संविधान संशोधनका निम्ति नेसपाले राज्यसंगको लडाइ जारी राखेको मन्त्री यादवले जनाए ।
सत्तारुढ गठबन्धनको सरकारले संविधानमा रहेका त्रुटिहरु सच्याउने देखि देश, जनता र लोकतन्त्रको पनि रक्षा हुने मन्त्री यादवले ठोकुवा गरे । यो गठबन्धनको सरकारमा मूल्य र मान्यताको राजनीतिलाई अगाडि बढाएर देशको हितमा सबैलाई काम गर्न मन्त्री यादवले सुझाव समेत दिएका हुन् ।
२०७९ चैत १७ गतेको मन्त्रीपरिषद् विस्तारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएका महिन्द्र राय यादवको २०८० बैशाख २४ गते आइतबारका दिन नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम कार्यभार फेरिएर उनी खानेपानी मन्त्रीमा नियुक्त भएका थिए । मन्त्री यादव सर्लाही निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेसपाका राष्ट्रिय अध्यक्ष हुन् ।