आकाश मधवाल चम्कीदा मुम्बई इन्डियन एलएसजीलाई पराजित गर्दै दोश्रो क्वालिफायरमा प्रवेश

   ११ जेष्ठ २०८०, बिहीबार ०८:२३  

चेन्नई, ११ जेठ । बहुँचर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट म्याचको बुधवार राति सम्पन्न भएको इलिमिनेटर खेलमा लखनऊ सुपर जाइन्ट्स माथि विशाल अन्तरको जीत मुम्बई इण्डियनले दर्ज गराएको छ ।
जितसँगै मुम्बई प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । लखनउ भने उपाधि होडबाट बाहिरिएको छ । अब मुम्बईले प्रतियोगिताको दोस्रो क्यालिफायरमा गुजरात टाइटन्स संग शुक्रवार सामना गर्नेछ । उक्त खेलमा विजयी हुने टोलीले चेन्नई सुपर किङ्ससँग उपाधिका लागि भिडन्त गर्नेछ ।
टस जिती पहिलो ब्याटिङको निर्णय लिएको मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको लखनउले भने १६.३ ओभरमै अलआउट हुनुअघि १ सय १ रनमात्र बनाउन सक्यो ।
मुम्बईको जितमा आकाश मधवाल नायक बने । लखनउलाई विजयलक्ष्यसम्म पुग्न नदिन उनी एक्लैले ५ विकेट लिए । माधवालले ३.३ ओभर बलिङ गर्दै केवल ५ रन खर्चिए । उनी म्यान अफ दि म्याच पनि घोषित भए ।
पियुष चावला र क्रिस जोर्डनले पनि १÷१ विकेट हात पारे । लखनउका लागि मार्कुस स्टोइनिसले सर्वाधिक ४० रन बनाए । ओपनर काइली मायर्सले १८ र दिपक हुदाले १५ रन जोडे । लखनउका अन्य ब्याट्सम्यानले दोहोरो सँख्यामा रन बनाउन सकेनन् ।
त्यसअघि मुम्बईका लागि क्यामरुन ग्रिनले ४१ रन बनाएका थिए । सूर्यकुमार यादबले पनि ३३ रन बटुले । तिलक बर्माले २६ र नेहाल बधेराले २३ रन जोडे । ओपनर इशान किसनले पनि टोलीको खातामा १५ रन थपे । लखनउका बलर नविन उल हकले ४ र यश ठाकुरले ३ विकेट लिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै