प्रधानमन्त्री पुष्पकमल दहालको भारत भ्रमण उपलब्धि मुलक

   १९ जेष्ठ २०८०, शुक्रबार ०९:५०  

नयाँ दिल्ली, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दहालको भारत भ्रमण फलदायी भएको छ ।
नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएको हो ।
सन् २०१९ मै म्याद सकिए पनि सन्धिको परिमार्जनका विषयमा सहमति हुन नसक्दा नवीकरण हुन सकेको थिएन । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिएको उक्त सन्धि नविकरण सँगै नेपालले अब सडक, रेल र जल तीनवटै मार्गबाट समुद्रसँगको पहुँच पाएको छ ।
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सन्धि संशोधनमा हस्ताक्षर गरे । विगत ४ वर्षसम्म पारवहन सन्धि नवीकरण नै नभएको अवस्थामा यसमा हस्तक्षर हुनु महत्वपूर्ण काम भएको बताइएको छ ।
बिहीबार भारतको नयाँ दिल्लीमा भएको दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका वाणिज्यमन्त्री पियूष गोयलबीच सन्धिसम्बन्धी सम्झौतापत्र आदानप्रदान भए । नेपालले अब सडक, रेल र जल तीनवटै मार्गबाट समुद्रसँगको पहुँच पुर्याउने छ ।
सन्धिको नवीकरणपछि नेपालबाट समुद्रसम्म पानी जहाज सञ्चालनको बाटो खुलेको छ भने नेपालले भारत र तेस्रो देशसम्मको व्यापारका लागि जलमार्गसहित थप सुविधा पाएको छ । भारतले गंगा नदीमा आन्तरिक जलमार्गको विकास गरेको छ । नेपालले आफ्ना नदीमा आन्तरिक जलमार्ग विकास गरेको खण्डमा नेपालले गंगा नदीको जलमार्गमार्फत समुद्रसम्मको पहुँच पाउने बताइएको छ ।
त्यसैगरी नेपालले भारतको आन्तरिक जलमार्गमा रहेका तीन वटा टर्मिनलसम्म पहुँच पाएको छ भने भारतले निर्माण गरिरहेको बनारस, साहीवगञ्ज र कालुघाटस्थित आन्तरिक जलमार्ग टर्मिनल भएर नेपालले अन्तर्राष्ट्रिय व्यापार गर्न पाउने भएको छ ।
बनारस जलमार्ग भएर वीरगञ्ज र भैरहवा नाकासम्म, साहीवगञ्ज जलमार्गबाट विराटनगर र कालुघाट जलमार्ग भएर नेपालगञ्ज नाकासम्म विद्युतीय ट्र्याकिङ गरेर कन्टेनरमार्फत मालवस्तु आयात निर्यात गर्न सकिने छ ।
सन्धि पुनरवलोकन हस्ताक्षरपछि अब नेपालले भारतको विशाखापटनम् बन्दरगाहबाट विराटनगर र भैरहवा नाकासम्म बल्क कार्गो ल्याउने बाटो खुल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै