श्रोत नखुलेको १८ लाख रुपैया सहित चार जना सर्लाहीमा पक्राउ

   २५ जेष्ठ २०८०, बिहीबार १०:३१  

सर्लाही, २५ जेठ । सर्लाहीको हरिवन नगरपालिकाबाट स्रोत नखुलेको १८ लाख रुपैयाँ सहित चार जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
अवैध रकमको कारोवार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मलंगवार र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको संयुक्त टोलीले पूर्व–पश्चिम राजमार्ग स्थित हरिवन नगरपालिका ११ बाट चार जना व्यक्तिलाई स्रोत नखुलेको रकम, एउटा कार सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कार चालक मकवानपुरको हैटौंडा उपमहानगरपालिका ३ बासामाडी बस्ने ४० वर्षीय हेमराज विश्वकर्मा, सोही कारमा सवार सुनसरीको बराहक्षेत्र नगरपालिका ४ घरभइ हाल काठमाडौं महानगरपालिका काँडाघारी बस्ने ३१ वर्षीय मौसम मग्राती, सर्लाहीको बागमती नगरपालिका १ बस्ने ३१ वर्षीय दीपक तामाङ र खोटाङको रावावेशी गाउँपालिका ४ बस्ने ४४ वर्षीय विमल तामाङ रहेका छन् ।
उनीहरु पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा बागमती प्रदेश ०१ ०२६ च ०२९९ नम्वरको कारको डिकीमा झोलाभित्र राखेर हिँडेको एक हजार दरको एक सय थान नोट भएको १८ बिटोमा नेपाली रुपैयाँ १८ लाख रुपियाँ सहित पक्राउ परेका सर्लाही प्रहरीका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
एसपी सुवेदीले पक्राउ परेका चारै जनालाई सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै