सर्पको टोकाईबाट बागमती नगरपालिकामा चार बर्षिय बालकको मृत्यु

58 Shares

सर्लाही, २९ जेठ । सर्लाही जिल्लाको वागमती नगरपालिकामा विषालु सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ ।
वागमती नगरपालिका वडा नम्वर १२ बथानेका कुमार विकको ४ बर्षिय छोरा सालिन विकलाई आइतवार राति सुतिरहेको ओछ्यानमा विषालु सर्पको टोकाईबाट मृत्यु भएको बताइएको हो ।
आइतवार राति सानी आमा कल्पना विक संग सुतिरहेको अवस्थामा राति ११ बजेतिर बालक एक्कसी रुन थालेपछि सर्पले टोकेको आशंकामा उपचारको लागि लालबन्दी १ स्थित नवलपुरमा सर्पदंश उपचार केन्द्रमा ल्याइएपनि बचाउन नसकिएको उनको परिवारजनले बताएको छ ।
उपचार केन्द्रमा ल्याउँदा ल्याउदै बालकको मृत्यु भइसकेको केन्द्रका इन्चार्ज जगर्नाथ यादवले जानकारी दिए । बालकको बाटोमा नै मृत्यु भइसकेकाले केन्द्रमा ल्याएर उपचार सुरु गर्नै नपाएको उनले बताए ।
मृतक बालकको बुवा वैदेशिक रोजगारीमा रहेको र आमा पनि झापा गएका बेला राति नजिकै रहेको सानिआमाको घरमा गएर सुतेका बेला बालकलाई सर्पले टोकेको स्थानीयले बताए । मृतक बालकको शव सोमबार बिहान परिवारका सदस्यले बुझेर लगेका नवलपुर सर्पदंश उपचार केन्द्रले जनाएको छ ।
विगत दुई साता देखि बढेको अत्याधिक गर्मीबाट सर्पदंशको विरामीहरुको संख्यामा वृद्धि भएको छ । उपचार केन्द्रमा अहिले सर्पदंशका बिरामीको चाप बढेको छ । केन्द्रमा दैनिक पाँच÷सात जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आइरहेका इन्चार्ज यादवले बताए ।
अत्याधिक गर्मीबाट जमिन तातिएर दुलोबाट विषालु सर्पहरु बाहिर निस्कन थालेपछि सर्पदंशको घटनामा वृद्धि हुँदै गएको हुँदा घरबाहिर निस्किदा साबधानी अपनाउनु पर्ने उनले सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार