गौर हत्याकाण्ड सम्बन्धी परेको रिटमा सर्वोच्चमा सुनुवाइ भएन

रौतहट, २९ जेठ । गौर हत्याकाण्ड आरोपितहरुलाई कारवाहीको माग राख्दै सर्वोच्च अदालत काठमाडौंमा दता भएको रिट माथि सोमवार पनि सुनुवाई भएन ।
सर्वोच्च अदालतका न्यायाधीर कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ हुने गरी पेशी तोकिए पनि बेञ्च बस्न नभ्याएको भन्दै सुनुवाइ हुन सकेनन् ।
गत जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौर समेतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।
उक्त रिट निवेदन माथि सुनुवाइका लागि जेठ २२ गते पेशी तोकिएको थियो । तर त्यसदिन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । २०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।