अमेरिकी अनुदानको जमात इस्लामीद्धारा विरोध

लाहोर । पाकिस्तानमा तेस्रोलिङ्गी विद्यार्थीहरूलाई अङ्ग्रेजी साहित्य र भाषा सिकाउन अमेरिकी राष्ट्रपति जो बाइडेनले स्वीकृत गरेको ५ लाख डलरको अनुदानलाई पाकिस्तानको नैतिक सांस्कृतिक मूल्यमान्यताविरुद्धको गम्भीर षड्यन्त्र भएको भन्दै जमात-ए-इस्लामीले कडा निन्दा गरेको छ।
जेआई नायब अमिर र नेशनल फेडरेशन फर एडभान्समेन्ट अफ एजुकेशन (नाफे) का महानिर्देशक प्रा इब्राहिम खानले सरकारलाई यो अमेरिकी अनुदान अस्वीकार गर्न र ट्रान्सजेन्डर अधिकारको आडमा समलिङ्गीता र अश्लीलताको प्रवर्द्धन रोक्न तत्काल कदम चाल्न सरकारसँग माग गरेका छन्। उनले यस्ता अनुदानले नयाँ पुस्ताको नैतिकता र चरित्रका लागि घातक विष साबित हुने चेतावनी दिए।
मुस्लिम बाहुल्य राष्ट्र पाकिस्तानमा महिला र तेस्रो लिङ्गीहरुलाई शिक्षामा कडाइ गरिएको छ। यद्पि अमेरिकाले भने सबै नागरिकलाई समान शिक्षा दिने र शिक्षाबाट कोही पनि वञ्चित गर्न नहुने अभियान अन्तर्गत अनुदान रकम उपलब्ध गराएको थियो।
आर्थिक रुपमा संकटमा परेको पाकिस्तानलाई ५ लाख अमेरिकी डलर भित्रिनु खुसीको कुरा भए पनि संस्कृति र मान्यताविरुद्ध प्रयोग हुने भयका कारण यसको चर्को विरोध भइरहेको छ।