वन फडानीमा उपभोक्ता समितिकै पदाधिकारी संलग्न

रौतहट, ६ असार । सामुदायिक वनका पदाधिकारीहरुकै साँठगाँठमा सालको रुखको चोरी तस्करी भईरहेको आरोप यतिखेर गम्भीर आरोप लागेका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर १ मा रहेको जनसेवा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दण्डबहादुर पुलामी सहितका पदाधिकारीहरुकै साँठगाँठमा रुख कटान गराएर चोरी तस्करी गराएको गम्भीर आरोप लागेका हुन् ।
गैरी गाउँमा सुकेको रुखको १४ वटा गोलिया बनाएर विभिन्न स्थानमा लुकाएर राखेको अवस्थामा स्थानीय उपभोक्ताले बरामद गरेका छन् । लुकाएर राखेको सालको गोलिया बरामद गर्नका लागि उपभोक्ताहरुले चन्द्रपुर नगरपालिका वडा नं. १ को कार्यालय घेराउ गरेपछि वडा अध्यक्ष बलराम राउत सहितको जनप्रतिनिधिको टोलीले लुकाएर राखेको स्थानबाट काठ बरामद गरेर डिभिजन वन कार्यालय चन्द्रनिपुरलाई जिम्मा लगाएको छ । उपभोक्ताले वडा कार्यालयमा उजुरी हालेपछि वडा कार्यालयले छानविन समिति समेत गठन गरेको वडा अध्यक्ष राउतले जानकारी दिए । सामुदायिक वनका अध्यक्ष सहितका केही व्यक्तिले ठाडो रुख काटेर बेच्ने मनसायले विभिन्न स्थानमा लुकाएर राखेको अवस्थामा बरामद भएको उनले भने ।
वडा कार्यालयबाट एम बहादुर राना मगरको संयोजकत्वमा ठाडो रुख काटिएको विषयमा छानविन समिति गठन गरेको थियो । डिभिजन वन कार्यालय चन्द्रपुरका प्रमुख सुनिल कर्णका अनुसार जनसेवा सामुदायिक वन उपभोक्ता समूहकै पदाधिकारीको मिलेमतोमा रुख काटिएको आफुहरुले जानकारी पाएको र काटिएको रुखका गोलिया डिभिजन वन कार्यालय चन्द्रपुरमा स्थानीयद्धारा बुझाइएको स्वीकारे ।
ठाडो रुख काटिएको विषयमा डिभिजन वन कार्यालयले बुधवार छानविन समिति बनाएर कारवाही प्रक्रिया अगाडि बढाउने बताए । २ सय ४३ क्युफिट सो काठ डिभिजन वन कार्यालय चन्द्रपुरमा राखिएको भएपनि ठाडो रुख काट्ने सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा रुख काट्ने उपर हालसम्म कुनै कारवाही हुन सकेको छैनन् । स्थानीय बासिन्दाले ठाडो रुख काट्ने उपभोक्ता समूहका अध्यक्ष सहितका पदाधिकारीमाथि कडा कारवाहीको माग राखेका छन् ।
रौतहटका विभिन्न सामुदायिक वन उपभोक्ता समूह तथा साझेदारी वन उपभोक्तासमूहकै पदाधिकारीको मिलेमतोमा रौतहटको वनमा व्यापक रुपमा हानीनोक्सानी हुदै आएको छ । अनियमित रुपमा आर्थिक अनियमितता गर्ने र समयमा साधारण सभा समेत नगर्ने सामुदायिक वन उपभोक्ता समूह माथि डिभिजन वन कार्यालयले कारवाही प्रक्रिया अगाडि नबढाएका कारण ति सामुदायिक वन उपभोक्ता समूह समिति व्यक्तिको कब्जामा रहेको भन्दै विगत लामो समयदेखि विरोध हुदै आएका छन् ।