गरुडा नगरपालिकाको कार्यालयमा ताला लगाउदै उपमेयर सहित कार्यपालिका सदस्यद्धारा धर्ना प्रदर्शनमा

   १४ असार २०८०, बिहीबार १५:३१  

रौतहट, १४ असार । बहुसंख्यक कार्यपालिका सदस्यलाई वाइपास गरेर गैरकानुनी प्रक्रियाद्धारा नगर अधिवेशन गराएको आरोप लगाउदै गरुडा नगरपालिकाको उप नगरप्रमुख सहित जनप्रतिनिधिहरुले नगरपालिकाको कार्यालयमा ताला लगाएर धर्ना प्रदर्शनमा बसेका छन् ।
गरुडा नगरपालिकामा बहुमत जनप्रतिनिधिलाई बेवास्था गरेर नगरसभा गरेको भन्दै उपमेयर पुनम चौधरी लगायतका निर्वाचित जनप्रतिनिधिहरुले कार्यालयमा सोमवार तालाबन्दी गरेर गत चार दिन देखि धर्ना प्रदर्शनमा बसेका हुन् ।
उपमेयर चौधरी सहितका कार्यपालिका सदस्यहरु विहिवार पनि नगरअधिवेशनको विरोध गर्दै धर्ना प्रदर्शनलाई जारी राखेका छन् । तालाबन्दीपछि नगरपालिकाको नियमित कामकाज पनि प्रभावित भएको बताइएको छ । विरोधमा उत्रिएका कार्यपालिका सदस्य सहित जनप्रतिनिधिहरु बिहान १० बजेदेखि साँझ ५ बजेसम्म धर्नामा बस्ने गरेका छन् । नगरप्रमुख कन्थमणि जयसवालले भने धर्नामा बसेका जनप्रतिनिधिहरु सित बारम्बार सम्वादको प्रयास गरेको बताएका छन् । साथै उनले उपमेयर चौधरीलाइ आफूले कहिल्यै पनि बेवास्ता नगरेको बताए ।
‘उपमेयर चौधरीको अधिकार खोसियो भन्ने आरोप सरासर झुठो रहेको मेयर जयसवालको कथन रहेको छ । नगरसभाका लागि उपप्रमुख सित पटक÷पटक सल्लाह भएको मेयर जयसवालले दावी गरे । नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्दै उपमेयर सहित ६ वटा वडाका अध्यक्षहरु र ३१ जना सदस्यहरु धर्नामा बस्दै आएका छन ।
नगरप्रमुख जयसवालले एकलौटी ढंगले बजेट चलाउन खोजेको र सहमति नै नगरी जबरजस्ती नगरसभा गरेको उपप्रमुख चौधरीको आरोप लगाए । गत आइतबार नगरपालिकाको ९ औं नगरसभामा ५५ करोड १६ लाख ३० हजारको बजेट तयार पारिए पनि विरोध र तालाबन्दीका कारण बजेट प्रस्तुत हुन सकेन ।
बहुमत सदस्यले नगरसभा बहिष्कार गरेपछि बजेटमाथि सोमबार हुने भनिएको छलफल कार्यक्रम अन्योल बनेको छ उपमेयर चौधरी लगायत २, ३, ६, ७, ८ र ९ नम्बर वडाका अध्यक्षहरुले नगरसभा बहिष्कार गरेका हुन् । ४९ जना कार्यपालिका सदस्य मध्ये ३१ जनाले नगरसभालाई बहिष्कार गर्दा नगरअधिवेशनको औचित्यता माथि प्रश्न चिन्ह खडा भएको नेकपा एसबाट गरुडा नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका वृजकिशोर यादवले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै