भारतीय पक्षद्धारा भईरहेको बाँध मर्मत कार्यलाई सशस्त्र प्रहरीद्धारा रोक लगाइयो

   १५ असार २०७८, मंगलवार १३:५६  

तराई टप संवाददाता
रौतहट, १५ असार । भारतीय पक्षद्धारा सहमती उलंघन गरेर दशगज्जा मिची बाँध मर्मत गर्न लाग्दा सशस्त्र प्रहरी उक्त कार्य माथि रोक लगाएको छ ।
रौतहटको इशनाथ नगरपालिकाको वडा नम्वर १ बन्जरहामा संग जोडिएको नेपाल भारत सिमामा भारतीय पक्षद्धारा दशगज्जा मिची बनाइएको सिमामा विगत १० बर्ष अग्लो बाँधले गर्दा बर्षेणी बर्षा याममा बन्जरहा, औरैया लगायतको गाउँहरु डुवानमा परी जनधनको क्षति नेपाली नागरिकहरु बेहोर्दै आएको हो । त्यती मात्रै नभई पानीको बर्षा र बाढीको पानी निकासको बाटो भारतीय पक्षले थुनिदिदा हजारौं विगहा खेती योग्य जग्गामा लगाइएको बालीनाली नष्ट हुने गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपालको ११ नम्वर गण रौतहटको प्रमुख एसपी सुर्यबहादुर सेन ओलीले बाँध सर्ने सहमती विपरित भारतीय पक्षद्धारा मर्मत कार्य संचालन गरेको जानकारी प्राप्त भएपछि तत्कालै उक्त स्थानमा सशस्त्र प्रहरीको अधिकृत सहितको जवानहरलाई परिचालन गरेर मर्मत कार्य नगर्न रोक लगाएको बताए । एकातिर सार्ने सहमती गर्ने अर्को तर्फ मर्मत गर्ने प्रवृति हेर्दा भारतीय पक्षको नियत राम्रो नभएको बताए ।
२०६८ सालमा भारतीय सरकारले दश गज्जा क्षेत्र संगै टाँसेर बनाइएको अग्लो बाँधका कारण इशनाथ नगरपालिकाको बन्जरहा, वैरिया र औरैया गाउँ बाढी र बर्षाको पानीबाट डुवानमा पर्दै निकै ठूलो क्षति बेहोर्दै आएको छ । २०६८ साल अघि बन्जरहा सहितका उक्त गाउँहरुमा बाढी र डुवानको समस्या रहेको थिएन । जब देखि भारत सरकारबाट बाँधको निर्माण गरियो र बर्षेणी बाँधको उचाई बढाउदै गएको तर पानीको निकासको लागि साइफन नबनाउदा बर्षा र बाढीको पानीबाट बन्जरहा गाउँ तालमा परिणत भएका छन् ।
बर्षा यामको बहाना देखाई गत बर्ष नै बाँध सार्ने थिए तर अहिले सम्म बाँध सार्ने त परै जाओस त्यही बाँधमा बोरा हालेर मर्मत गर्न थाल्दा सशस्त्र प्रहरीले दुई दिन देखि रोक लगाएको इशनाथ नगरपालिका वडा नम्वर १ को वडाध्यक्ष विगु व्यासले बताए ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सिमामा बनाइएको बन्जरहाको बाँधबाट बर्षेणी डुवानको समस्या झेल्दै आएको हुँदा भारतीय समकक्षी संग कुरा गरी विगतमा भएको सहमतीलाई पुरा गर्न दवाव दिएको बताए । नेपाली भु भाग डुवानमा पर्ने गरी कुनैपनि अवाञ्छित कार्य दशगज्जामा हुन नदिने चेतावनी दिदै प्रजिअ यादवले नेपाल र नेपाली जनतालाई हानी पुर्याउने कार्य सह्य नहुने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै