बीआरआई परियोजना अन्तर्गत कुनै पनि कार्यक्रम संचालनमा नरहेकोः परराष्ट्रमन्त्री साउद

रौतहट, २६ असार । नेपाली परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले चिनियाँ अति महत्वाकाँक्षी बीआरआई परियोजनाका कुनै कार्यक्रम नेपालमा संचालनमा नरहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको हिजो बसेको बैठकमा उनले चीन सरकार सँग बीआरआई परियोजनाका लागि नेपालले २०१७ मा सम्झौता गरेको भए पनि त्यसपछि बीआरआईको कुनै पनि योजना नेपालमा अघि नबढेको बताएका हुन् ।
तर, पछिल्लो समय चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गतको भएको दाबी गर्दै आएपछि नेपालमा बहसको विषय बनेको छ ।
बैठकमा समितिका सदस्यहरुले प्रश्न गरेसँगै मन्त्री साउदले बीआरआई परियोजना अन्तर्गत हालसम्म कुनै योजना नेपालमा सुरु नभएको र कार्यान्वयनको सन्दर्भमा अहिले सरकार छलफलमा रहेको बताए ।
‘एमसीसी परियोजना आगामी अगस्ट महिनादेखि कार्यान्वयनको चरणमा जानेछ । कार्यान्वयनको चरणपछि ५ वर्षमा यो पूरा हुन्छ’, उनले भने, ‘बीआरआई सन् २०१७ मा नेपालले चीन सरकार सँग एमओयु गरिसकेको छ । यसपछि यसको कार्यान्वयनको सन्दर्भमा हामी थप छलफलको चरणमा छौं । यो कार्यक्रम अन्तर्गत कुनै पनि योजना नेपालमा सुरु भएको छैन ।’