रौतहट, २७ असार । प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको बुधवार विहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको छ ।
प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माले आज विहान ८.३३ बजेको समयमा सिता दाहालको निधन भएको जानकारी दिएको हो ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित प्रचण्ड पत्नी दाहाल लामो समयदेखि ओछ्यानमा रहेकी थिइन् । तर उनको मृत्यु भने हृदयाघात भएको बताए ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
पत्नीसँगै प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका थिए । अन्य विशिष्ट व्यक्तित्वहरु र पार्टी कार्यकर्ताहरु पनि अस्पताल परिसर पुगेका छन् ।
आजै प्रचण्ड पत्नी सिता दहालको पशुपती आर्यघाटमा अन्त्येष्ठी गरिने छ ।