श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार कायम गर भन्दै प्रजिअ मार्फत श्रम तथा रोजगार मन्त्रीलाई नेपाल ट्रेड युनियन काँग्रेसद्धारा ज्ञापन पत्र बुझाइयो

129 Shares

रौतहट, २८ असार । नेपाल ट्रेड युनियन काँग्रेस रौतहटले श्रमिकहरुको न्यूनतम पारिश्रमिकलाई लिएर प्रमुख जिल्ला अधिकारी मार्फत श्रम तथा रोजगार मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल ट्रेड युनियन काँग्रेस रौतहटका अध्यक्ष रामसोगारथ यादवको नेतृत्वमा गएका ट्रेड युनियन काँग्रेसका पदाधिकारीहरु जिल्ला प्रशासन कार्यालय गौरमा विहिवार गएर प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई ज्ञापन पत्र बुझाएका हुन् ।
प्रमुख जिल्ला अधिकारी मिश्र मार्फत श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारी समक्ष पठाइएको ज्ञापन पत्रमा नेपालको श्रम ऐन, २०७४ मा व्यवस्था भए अनुसार प्रत्येक २÷२ वर्षमा त्रिपक्षिय सहमतीका आधारमा श्रमजीविहरुको न्युनतम पारिश्रमिक निर्धारण गरी लागु गर्नुपर्ने विषयमा हामी कटिबद्ध छौं । यही व्यवस्था बमोजिम २०८० आषाढ मसान्तमा त्रिपक्षिय आधारमा न्युनतम पारिश्रमिक निर्धारण गरी श्रावण देखि लागु गर्नु पर्नेमा सरकार, रोजगारदाता र ट्रेड युनियन बीच पटक–पटक छलफल हुँदा पनि सहमतिमा पुग्न नसकेको अवस्था छ । श्रमजीविको पारिश्रमिकको सन्दर्भमा नेपाल ट्रेड युनियन काँग्रेस विगत देखि नै न्युनतम पारिश्रमिक (Minimum Wage) श्रमिकको जीवन यापनको निमित्त सहजता प्रदान गर्ने हुनु पर्दछ भन्ने कुरा उठाउदै आइरहेको र यही अडानमा अडिग छ ।
रोजगारदाताका साथै सरकार समेत श्रमजीविको न्युनतम पारिश्रमिकमा गम्भीर देखिदैन । सरकार आफै कानुन विपरित देशमा दुई प्रकारको न्युनतम पारिश्रमिक निर्धारण गरी गम्भीर विभेद गरिरहेको छ । सरकारी कार्यालयमा कार्यालय सहयोगीलाई समेत मासिक रु.२६,०००।–तोकेको अवस्थामा वर्तमान समयको कहाली लाग्दो मुल्य वृद्धि, महंगीमा मासिक रु.१५,००० मा श्रमजीविले कसरी जीवन यापन गर्दछन् भन्ने गम्भीर प्रश्न हामी माझ उठेको छ । विशेषतःअनौपचारिक र उत्पादन क्षेत्रमा संलग्न लाखौं श्रमिकलाई बजार मुल्य वृद्धिको दाँजोमा अव्यवहारिक र अपुग पारिश्रमिक निर्धारण गरी कसरी उत्पादकत्व वृद्धि र देश समृद्ध बनाउन सकिन्छ ?
वर्तमान समयको मूल्य वृद्धि र महंगीलाई समेत ध्यानमा राखी नेपाल ट्रेड युनियन काँग्रेसले मिति २०८० आषाढ ४–६ सम्म काठमाण्डौंमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनमा व्यापक छलफल गरी कम्तीमा श्रमिकको पारिश्रमिक न्युनतम मासिक रु.२५,०००।– हुनुपर्ने निर्णय गरेको छ । यहि निर्णयानुसार विभिन्न छलफल र संवादमा समेत यही अडान राख्दै आएको छ । यसको निमित्त उत्पादकत्व वृद्धि कार्ययोजनामा पुर्ण सहयोग गर्न नेपाल ट्रेड युनियन काँग्रेस प्रतिबद्ध छ ।
तसर्थ, आकासिदो महंगीको वर्तमान अवस्थामा चिया बगान लगायत सबै क्षेत्रका श्रमिकहरुलाई एक रुपता कायम हुनेगरी न्युनतम पारिश्रमिक मासिक रु.२५,०००।– निर्धारण नभए श्रमजीविहरुको हकहित र अधिकारका लागि नेपाल ट्रेड युनियन काँग्रेस कडा भन्दा कडा कदम चाल्न बाध्यहुने उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझाउन गएकोमा उपाध्यक्ष प्रभातकुमार झा, उपाध्यक्ष अमरेन्द्र सिंह, महिला उपाध्यक्ष संजु बैठा, सचिव मोह्म्मद अब्दुल्लाह लगायतका जिल्ला कार्य समितिका महिला सदस्य एवं पुरुष सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार