बाढीबाट अधिकाँश खेती योग्य जग्गा डुवानमा, मानव वस्तीमा बढी पस्ने खतरा

तराई टप संवाददाता
रौतहट, १७ असार । अविरल बर्षाको कारण वागमती र लाल बकैया नदी सहित विभिन्न सहायक नदीमा आएको बाढीबाट अधिकाँश खेती योग्य जग्गा डुवानमा परेको छ भने मानव बस्तीमा बाढी पस्ने खतरा उत्पन्न भएका छन् ।
वागमती र लाल बकैया नदीमा पानीको सतह डेन्जर जोन भन्दा माथि वगिरहेको छ । बर्षाको पानीबाट खेतनालाहरुमा पानी जम्दा खोलाको बाढी सजिलै पसेर खेती गरिएको जग्गाहरु डुवानमा परेका हुन् । सहायक नदी झाझ खोलामा आएको पानीको सतह भन्दा वागमती नदीमा बढी रहदा झाझ खोलाको पानी थुनिएर वागमतीको पानी दुर्गा भगवती गाउँपालिकाको ५ बडहर्वा भई सदरमुकाम गौर तर्फ आउने क्रम जारी रहेका छन् ।
झाझ नदी भएर बागमतीको पानी आईरहदा दुर्गा भगवतीको बडहर्वा गाउँको दलित बस्ती चारै तिरबाट बाढीले घेरिएको अवस्था छ । उनीहरु आ आफना घर भित्र बस्न बाध्य भएको वडाध्यक्ष धर्मनाथ चौधरीले बताए ।
वागमती नदीमा पानीको बहाव निकै उच्च रहदा गढीमाई नगरपालिका ६ धरमपुर स्थित पुल भन्दा दक्षिण तिर रहेको स्पर अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको तथा गढीमाईकै समनपुर स्थित वागमती पुल नजिकको संरचनाहरु कमजोर हुँदा भत्काउने बढी सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । लाल बकैया नदीमा आएको बाढीले बौधीमाई नगरपालिकाको इनर्वा गाउँ नजिक बाँध काट्ने सम्भावन बढेर जाँदा बाँधलाई जोगाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको कर्मचारीहरु आपतकालिन कार्यमा जुटेको उनले स्पष्ट पारे ।
पहाडी भेगमा आज बर्षा नभए मानव वस्तीमा बाढी पस्न नसक्ने बताउदै प्रजिअ यादवले अत्यन्तै जोखिमपूर्ण स्थानहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर सहितको टोली परिचालन गरिएको छ उनले भने । बाढीबाट जनधनको क्षति हुन नदिन २४ सौं घण्टा सुरक्षाकर्मी हाई अलर्टमा बसेको समेत उनले स्पष्ट पारे ।
वागमती नदीमा विहान ६५० मिली लिटर क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव थिए भने दिउसो ४ बजे ५५० क्यू सेकमा आएपनि बागमती डेन्जर जोन भन्दा माथि बगिरहेको हुँदा नदीको तटिय क्षेत्रमा सर्वसाधारण जनताहरुलाई जान नदिन अभिभावक र समाजका अगुवाहरु सचेत हुनुपर्ने प्रजिअ यादवले अपिल गरे ।