निर्माण व्यवसायीहरु भुक्तानीको माग गर्दै सडक डिभिजन कार्यालय घेराउ प्रदर्शन

रौतहट, ३१ असार । विकास निर्माणको काम गरेर पनि भुक्तानी नगर्दा निर्माण व्यवसायीहरुले सडक डिभिजन कार्यालय चन्द्रपुरमा ताला लगाएर धर्ना प्रदर्शन गरेका छन् ।
बिल रकम भुक्तानी नगरेकोमा विरोध गर्दै निर्माण व्यवसायी संघ रौतहटको अगुवाईमा आईतवार चन्द्रपुर स्थित सडक डिभिजन कार्यालयमा ताला लगाएर घेराउ धर्ना प्रदर्शन गरेका हुन् ।
निर्माण ब्यवसायी तथा फर्मले चालु आर्थिक वर्षमा सम्पन्न गरेका विभिन विकास निर्माण कार्यक्रमको सम्पन्न गरेर कार्यालयमा पेश गरिएको विलको रकम भुक्तानी नगरेका कारण चन्द्रपुर स्थित सडक डिभिजन कार्यालयमा विरोध कार्यक्रम गरे । सो कार्यालयले असार मसान्त सम्म सम्पन्न गरिएका सडक तथा पुल निर्माण कार्यक्रमको रकम भुक्तानी नगरेपछि विरोध कार्यक्रम गरिएको निर्माण व्यवसायीहरुले आक्रोश पोखे ।
निर्माण ब्यवसायी संघ, रौतहटले सडक डिभिजन कार्यालयको परिसर बाहिर गेटमा विरोध स्वरुप टायर बालेका थिए भने कार्यालयको मुख्य गेटमा तालाबन्दी गर्दै ब्यानरसहित धर्ना दिए । त्यस कार्यालयको कार्यक्षेत्र रौतहट र सर्लाही जिल्ला हो ।
दुई जिल्लामा संघिय भौतिक पुर्वाधार मन्त्रालयका विकास निर्माणका कार्यक्रमहरु सन्चालन गर्दै आएका छन् । यस कार्यालयले जिल्ला तथा अन्य जिल्लाका विभिन्न निर्माण ब्यवसायीको २५ करोड रुपैयाँ भन्दा बढि रकमको बिल भुक्तानी नगरेकाले आफुहरु बाध्य भएर सडक डिभिजनमा धर्ना र कार्यालय घेराउ गर्नुपरेको निर्माण ब्यवसायी संघ रौतहटका अध्यक्ष कृष्णदेव यादवले गुनासो गरे ।
यादवका अनुसार, सम्झौता र कार्यादेश बमोजिम सवै काम सकियो । विल बनेर पेश गरियो तर कार्यालयले पैसा नआएको भनेर असार मसान्तसम्म पनि भुक्तानी नपाउँदा ब्यवसायीलाई आर्थिक संकट उत्पन्न भएको अध्यक्ष यादवले भने । ४० वटा भन्दा बढि निर्माण ब्यवसायीले भुक्तानी बाँकी रहेको छ । सगुन कन्सट्रक्सन, राजदेवी, ढुकुची, आरके लगायतका निर्माण कम्पनीको भुक्तानीको प्रतिक्षामा रहेका छन् ।
सडक डिभिजन कार्यालयका नायव सुब्बा रुपलाल यादवले अर्थ मन्त्रालयबाट पैसा निकासा नभएको भुक्तानी गर्न नसकेको बताए । कार्यालय प्रमुख दरोगा प्रसाद साह भुक्तानीको झमेलाको कारण कार्यालयमा अनुपस्थित रहदै आएका छन् ।