अविरल बर्षाबाट जनजिवन प्रभावित, स्पर जोगाउन रातभरी सुरक्षाकर्मीहरु मर्मत जुटे

   १८ असार २०७८, शुक्रबार १५:०४  

तराई टप संवाददाता
रौतहट, १८ असार । लगातार रुपमा भईरहेको बर्षाले रौतहटको समान्य जनजिवन प्रभावित भएको छ ।
तिन दिन देखि निरन्तर रुपमा भईरहेको अविरल बर्षाको कारण सामान्य जनजिवन प्रभावित संगै वागमती, लाल बकैया, झाँझ, चाँदी, भकुवा, अरुवा, तरहरी सहितको विभिन्न् साना साना नदीहरुमा आएको बाढीबाट सम्भावित बाढीको त्रास सर्वसाधारणमा बढाएका हुन् ।
असार महिनामा किसानहरु धान बाली आ आफनो जग्गामा रोपाई गर्ने गरेको हुँदा रौतहटमा ९० प्रतिशत किसानहरु धानको रोपाई सम्पन्न गरिसकेको अवस्थामा बर्षा र बाढीको पानीबाट रोपाई गरेको खेतहरु जलमग्न हुँदा किसानको लगानी र मेहनत सवै खेर गरेको छ । निकै परिश्रम गरेर किसानहरु यसपाली अगावै धानको रोपाई सम्पन्न गरेका थिए तर प्रकृतिको सामु केही कसैको लागेन प्राय ः खेतमा दुई देखि सात फिट सम्म पानी जम्दा किसानको लगानी डुब्ने प्रवल सम्भावना रहेको किसानहरु बताउँछन् ।

स्पर जोगाउन रातभरी खोलामा सुरक्षकर्मीहरु मर्मत कार्यमा जुटे

राजदेवी नगरपालिका ९ स्थित वागमती नदीको बाँधको स्पर नम्वर १ लाई नदीले भत्काउन थाल्दा विहिवार राति देखि जिल्ला प्रशासन कार्यालयको पहलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको जवानहरु मर्मत कार्यमा जुटेर स्परलाई जोगाएको बताइएको छ । उक्त कार्यको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहित नेपाल प्रहरीको एसपी सिद्धिविक्रम शाह, सशस्त्र प्रहरीको एसपी सुर्यबहादुर सेन ओली र नेपाली सेनाको वीरदल गणको गणपती कर्णेल राजन दहाल स्यम् उपस्थित भएर स्परलाई जोगाएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको हो ।
अति सम्बेदनशिल स्थानहरुमा अविरल बर्षाको पर्वाह नगरी ज्यान जोखिममा राखेर सुरक्षाको तिन वटै निकायका कर्मचारीहरु अहोरात्री खटेर जोखिमलाई कम गर्ने प्रयास गरेको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बस्तीलाई जोखिम हुन नदिन सुरक्षाकर्मीहरु हर सम्भव प्रयासमा जुटेको बताए । राजदेवी र गढीमाईमा विभिन्न स्थानमा मर्मत कार्य चलिरहेको तथा दुर्गा भगवतीको वडा नम्वर १ स्थित पुनर निर्माण भएको बाँधमा पानीले असर गरिरहेको हुँदा उक्त स्थानमा पनि मर्मत कार्य तत्काल प्रारम्भ गरिने उनले स्पष्ट पारे । बौधीमाईको इनर्वामा लाल बकैया नदीले बाँध नजिक पुगेको तथा कटान कार्य गर्न थाल्दा त्यहाँ पनि मर्मत कार्य युद्धस्तरमा जारी रहेको प्रजिअ यादवले जानकारी दिए ।

अविरल बर्षाको पानी निकास नहुँदा गौर र चन्द्रपुरको वस्तीमा पानी

तिन दिन देखि निरन्तर रुपमा भईरहेको बर्षाको पानी समुचित रुपमा निकास नहुँदा सदुरमुकाम गौरको मुख्य सड्क, नगरपालिका कार्यालयको चारै तिर २ फिट सम्म पानी जमेको छ । पानी जमेपछि सर्वसाधारणलाई अत्यावश्यक सामानको जोहो गर्न बजार निस्कन निकै गाह्रो भएको स्थानीयहरुले गुनासो गरे । समयमा नाला सफाई नभएको र पानीको ठोस निकास नहुँदा हालै बनाइएको कालो पत्रे सडकहरु पानी जम्नाले फुट्न थालेको छ ।
यसैगरी जिल्लाको उत्तरी भेग चन्द्रपुरमा पनि नालाको समुचित व्यवस्थापन नहुँदा नगरको भित्र क्षेत्रमा पानी भरिदा सर्वसाधारणहरुलाई निकै अप्ठ्यारो भईरहेको स्थानीय अशोक पहाडीले बताए । सधै भरी सडक मर्मत एवं निर्माणमा मात्रै ध्यान केन्द्रीत भएपनि बर्षाको पानी निकासको प्रवन्ध नमिलाउदा बर्षाकै पानीबाट बाढी जस्तो अवस्था खडा भएको गुनासो गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै