नेकपा नेता बराल माथि मंगलवारेमा हातपात

   अशोज २१, २०७७  
469 Shares

विराटनगर, २१ असोज । मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता गुरु बराल माथि हातपात भएको छ ।
उर्लाबारी नगरपालिका वडा नम्वर ३ मंगलबारेमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानका लेखा तथा प्रशासन प्रमुख मुक्तिनाथ दाहालको शव सोमबार झापाको दमक स्थित बहुप्राविधिक शिक्षालयमा झुन्डिएको अवस्थामा भेटिएको थियो । आफन्त र छिमेकीले मुक्तिनाथलाई आत्महत्या गर्न बाध्य बनाउनेलाई संरक्षण दिएको दाबी गर्दै नेकपा नेता माथि हातपात भएको हो ।
प्रमुख कार्यकारी अधिकृत विनोद अर्यालले खाली चेकमा हस्ताक्षर गर्न लगाएर आत्महत्या गर्न बाध्य बनाएको प्रतिष्ठानको सदस्य विद्या चाम्लिङले आरोप लगाइन । ‘प्रमुख कार्यकारी अधिकृतले कर्मचारीलाई गर्ने व्यवहार राम्रो थिएन, हामीले प्रश्न उठाउँदा अध्यक्षले (गुरु बराल) सधैं संरक्षण गर्नु भयो’ उनले भनिन्, ‘केही दिनअघि अर्यालले खाली चेकमा हस्ताक्षर गर्न लगाएर टर्चर दिएको हुँदा मुक्तिनाथले आत्महत्याको बाटो रोजे ।’
अर्यालले खाली चेकमा हस्ताक्षर गर्न लगाएपछि आफू तनावमा परेको दाहालले सुनाएको उनले बताइन् । अर्यालले दिएको मानसिक तनावका कारण दाहालले आत्महत्याको बाटो रोजेको दाबी आफन्तको छ ।

नेता बराल माथि हातपात

मंगलबार प्रतिष्ठानका अध्यक्ष बराल सहितका नेकपाका नेताहरु मंगलबार मुक्तिनाथको घर पुगेका थिए । तर अर्याललाई संरक्षण गरेको भन्दै आक्रोशित भिडलाई बरालमाथि हातपात गरेको तथा अवस्था तनाव बन्न लाग्दा बराललाई प्रहरीले उद्धार गरेको थियो ।
आक्रोशित स्थानीयलाई प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरे, नेकपाका केन्द्रीय सदस्यहरु महेश रेग्मी, विनोद ढकाल, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल लगायतले सम्झाउन खोजेका थिए । घटनाको छानविन गर्ने मौखिक आश्वासन दिए । तर नेता माथि विश्वास गर्ने ठोस आधार नभएको हुँदा पिडित पक्षले मानेनन् । लिखित सम्झौता भएपछि मात्रै अवस्था साम्य भएको बताइएको छ ।

नौ बुँदे सहमति

प्रतिष्ठान र दाहाल परिवारबीच नौबुँदे सहमति भएको छ । यससँगै परिवारले शव बुझेको छ । मृतकका छोराहरुको शिक्षादीक्षाको जिम्मा प्रतिष्ठानले लिने, प्रतिष्ठानमै जागिरे रहेकी श्रीमती शान्तालाई बढुवा गर्ने, घटनामा दोषी देखिएकालाई कानुन अनुसार कारबाहीका लागि पहल गर्ने, दुरुत्साहन आरोप लागेका अर्याललाई तत्काल निलम्बन गरेर जिम्मेवारीबाट हटाउने सहमति भएको छ । २०५२ सालमा स्थापना भएको प्रतिष्ठानमा सुरुदेखि कार्यरत दाहालका श्रीमती र दुई छोरा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै