बर्षा र बाढीबाट २२ जनाको घर क्षतिग्रस्त, करिव ३०० घर परिवार विस्थापित

   २० असार २०७८, आईतवार १९:२९  

तराई टप संवाददाता
रौतहट, २० असार । बर्षा र बाढीबाट रौतहटको विभिन्न स्थानीय तहको २२ जनाको भौतिक रुपमा घरको संरचना क्षतिग्रस्त भएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले आईतवार सार्वजनिक गरेको तथ्याँक अनुसार शनिवार सम्म भएको बर्षा र बाढीको कारण गौर, गुजरा, वृन्दावन, गढीमाई, राजदेवी, राजपुर, देवाही गोनाही, बौधीमाई नगरपालिका तथा दुर्गा भगवती र यमुनामाई गाउँपालिकाको विभिन्न वडा गरी २२ जनाको पक्कि, खपडा, फुसको घरको गरेर २६ लाख ४५ हजारको भौतिक संरचना क्षतिग्रस्त भएको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्धारा हस्ताक्षरित सार्वजनिक भएको उक्त तथ्याँकमा वागमती नदीले राजदेवी नपाको ९ स्थित स्पर नम्वर १ र ३ मा क्षति पुर्याउदा पूर्ण रुपमा मर्मत गरी सुरक्षित बनाएको तथा गढीमाई नगरपालिकाको ६ स्थित वागमती पुल नजिक १५ फिट लम्वाई ३ फिट चौडाई भएको स्पर र पुल पारी ढुंगाको मद्दतबाट बनाइएको संरचना क्षतिग्रस्त भएको उल्लेख गरिएको छ ।
अरुवा खोलाले मौलापुर नगरपालिकाको सोनरनियामा भएर हुलाकी राजमार्गलाई जोड्ने बाटोलाई १५ फिट फुटाएको छ भने फतुवा विजयपुर नगरपालिका ११ स्थित लाल बकैया नदीले गर्जा पुल नजिकको सडक क्षतिग्रस्त पुर्याएको प्रजिअ यादवले जानकारी दिए ।
बाढीबाट विस्थापित भएका व्रम्हपुर प्रहरी चौकीलाई जनता सत्यनारायण माध्यमिक विद्यालय बसतपुरमा राखिएको छ, गौर भन्सार सुरक्षा गार्डलाई छेउमै रहेको आँखा अस्पतालको दोश्रो तल्लामा तथा सशस्त्र प्रहरीको विओपी गौरलाई मानव सेवा केन्द्रको भवनमा राखिएको उनले भने ।
बाढी र डुवानबाट इशनाथको बन्जरहाको ४० घर परिवार, राजदेवीको लक्ष्मिपुर वेलविछवाको ४० घर परिवार आ आफना घर छाडी आफन्तको घरमा शरण लिई बसेको तथा दुर्गा भगवती गाउँपालिका ५ बडहर्वाको दलित बस्तीको २०० घर परिवार हाल बागमती नदीको बाँधमा बसिरहेको उक्त तथ्याँकमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै