भारतीय महावाणिज्य दूतावासद्धारा “मिसन लाइफ” सप्ताह सम्पन्न

   १८ श्रावण २०८०, बिहीबार १३:५०  

वीरगञ्ज । भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्धारा “मिसन लाइफ” कार्यक्रम अन्तर्गत विशेष सप्ताह सम्पन्न भएको छ ।
मिसन लाइफ कार्यक्रम अन्तर्गत सात सत्रहरु सञ्चालन गरिएको थियो । सो अवसरमा महावाणिज्यदूत नितेश कुमारले मिसन लाइफ भारतको नेतृत्वमा रहेको एक विश्वव्यापी ढाँचा भएको बताए ।
उनले पर्यावरणको संरक्षण एवं प्रवद्र्धन गर्न व्यक्तिगत तथा सामुदायिक कार्यलाई टेवा पुर्याउँदै दिगो भविष्य निर्माण गर्न यसको डिजाइन गरिएको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२१ ग्लास्गोमा भएको २६ औँ राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२६) मा विश्वलाई मिसन लाइफका बारेमा जानकारी दिएको थियो । त्यसअन्तर्गत वाणिज्य दूतावासले जुलाई २०, २०२३ मा आफ्नो परिसरभित्र ‘स्वास्थ्य लाइफ स्टाइल’ मा प्यानल छलफल आयोजना गरेको थियो ।
उक्त छलफलमा डा निरजकुमार सिंह, डा सुचित कुमार शर्माले स्वस्थ जीवनका लागि आफ्नो जीवनशैलीलाई कसरी परिमार्जन गर्न सकिन्छ भन्ने विषयमा विचार प्रस्तुत गरेका थिए ।
यस्तै जुलाई २१ मा विजय कुशवाहाले ई–वेस्टको उचित व्यवस्थापन नगर्दा हुने खतराका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । साथै उनले विद्युतीय सामाग्रीलाई छिटोभन्दा छिटो बदल्नुको सट्टा लामो समयसम्म प्रयोग गर्न आग्रह गरे ।
जुलाई २४ मा रणजितकुमार सिंह र जयप्रकाश खेतानले प्लाष्टिकको एकल प्रयोगलाई व्यावहारिकरूपमा कम गर्ने सन्दर्भमा विचार राखेका थिए । जुलाई २५ मा आयोजित कार्यक्रममा महेश अग्रवालले दिगो खाद्य प्रणालीका बारेमा धारणा प्रस्तुत गर्दै स्वस्थ खानाका फाइदाबारे प्रकाश पारेका थिए । सोही क्रममा उनले स्वास्थ्यका लागि कोदोको प्रयोगका फाइदबारे चर्चा गरेका थिए ।
जुलाई २६ मा भएको ‘फोहर न्यूनीकरण अभिमुखीकरण कार्यक्रम’ मा सरफुद्दिन मियाँ र महेश अग्रवालले फोहोर कम गरी वातावरण स्वच्छ र सुन्दर बनाउन थप रुख रोप्नुपर्नेमा जोड दिए । जुलाई २७ मा गोविन्द गुप्ता र प्रियांशु गुप्ताले ऊर्जा बचत सत्रमा ऊर्जाको उपयोगलाई कसरी किफायती बनाउन सकिन्छ भनी व्याख्या गरे ।
विशेष सप्ताहको अन्तिममा वाणिज्य दूतावास परिसरमा आयोजना गरिएको फोहर बचत सत्रमा नेपाल खानेपानी संस्थान वीरगञ्जका प्रमुख निरन महर्जन र चार्टर्ड एकाउन्टेन्ट प्रियंका रौनियारले पानी खेर फाल्दा कसरी पानीको संकट निम्त्याउँछ त्यस बारेमा विस्तृत जानकारी गराएको दुतावासले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै