तराई टप संवाददाता
रौतहट, २२ असार । सर्वोच्च अदालतले पदबहाली गरेका रौतहटको पाँच स्थानीय तहका उप प्रमुखहरु पदभार ग्रहण गरेका छन् ।
दलबदल गरेको आरोप लागेका पाँचै जना उप प्रमुखलाई निर्वाचन आयोगले पदमुक्त गरेको सुचना सार्वजनिक गरे लगतै उपप्रमुखहरु सर्वोच्च अदालतमा अन्तरिम आदेशको लागि रिट दायर गरेका थिए । सर्बोच्च अदालतले आईतवार पदबहालीको फैसला गरेपछि पाँचै जना आ आफना स्थानीय तहमा गई उप प्रमुख पदको पदभार ग्रहण गरेका हुन् ।
दल बदलको आरोपमा कार्वाहीमा परेर पदमुक्त भई सर्बोच्चबाट पदबहाली भएका देवाही गोनाहिकी उपमेयर परनिया देवि पटेल, फतुवा बिजयपुरकी उपमेयर कान्ति देवि महतो, मौलापुरका उपमेयर गौरीशंकर जयसवाल, माधव नारायणकी उपमेयर सिमलकुमारी साह र यमुना माई गाउँ पालिकाकी उपप्रमुख गिता देविले सोमबार छुट्टाछुट्टै कार्यक्रमका बीच पदभार ग्रहण गरेको बताइएको छ ।
उनीहरुलाई जनप्रतिनिधि, पालिकाका कर्मचारी तथा पार्टी कार्यकर्ताले फुलमाला लगाएर सम्मान गर्दै अगामी कार्यकालको पूण सफलताको शुभकामना दिए ।