सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा ९ किलो सुन भित्रयाउने तस्करसँगको सम्बन्ध पुष्टि भएपनि सरकारले अनुसन्धान गर्न नसक्दा वर्तमान सरकार माथि प्रश्न चिन्ह खडा भएको छ ।
महरा बुवा छोरा माथि अनुसन्धान नहुँदा सरकार तथा खासगरी गृह प्रशासन र अनुसन्धान गर्ने निकाय माथि नै अविश्वास उत्पन्न भएको हो । महरा र उनका छोराको सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेका छन् ।
अनुसन्धान र अभियोजनमा संलग्न स्रोतका अनुसार कृष्णबहादुरको छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङ सँग ११ पटक सम्पर्क भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले किटान गरेर प्रतिवेदन तयार पारेको छ । सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए । त्यही बेला महराको अर्का छोरा राहुल सँग २८ पटक फोन सम्पर्क भएको देखिन्छ् श्रोतले बतायो ।
राहुललाई सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिन्छ । हाल फरार असिन भनिएका अर्का चिनियाँ तस्करलाई राहुलले ३ पटक सम्पर्क गरेका थिए । राहुलले नै फरार रहेका अर्का व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक फोन सम्पर्क गरेको देखिन्छ । सुन तस्कर सञ्जाल सँग पटक–पटक सम्पर्क भए पनि महरा बाबुछोरा अनुसन्धानको दायरामा अझै आएका छैनन् ।
त्यसैगरी राहुलले विमानस्थलका भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई एकपटक टेलिफोन गरेका थिए । श्रेष्ठले प्रहरीलाई दिएको बयान अनुसार राहुलले तस्करीको उक्त सुनबारे चासो राख्दै लिलामीको प्रक्रियाबारे जानकारी लिएका थिए । तर उनीहरूमाथि अनुसन्धान भने भएको छैन ।
महराकै पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री छन् । तर, उनीहरू पार्टी र सरकारका अनुसन्धानकारी निकायबाट थप छानबिन गराउन आनाकारी गरेको देखा परेका छन् । ‘महरामाथि कुनै अनुसन्धान अघि नबढ्दा आम जनमानस र प्रमुख प्रतिपक्ष दलमा यो सरकारले निष्पक्ष अनुसन्धान गरिरहेको छैन भन्ने शंकालाई पुष्टि गरिरहेको छ,’ एक मन्त्री भन्छन्, ‘निष्पक्ष रूपमा काम गरिरहेको भनेर आम समुदायलाई विश्वासमा लिनका लागि भए पनि छानबिन हुनैपर्ने देखिन्छ ।’
८ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबु–छोरा संलग्न भएको भनेर प्रहरीको सीआईबीको प्रतिवेदनमा टेलिफोन नम्बरसहित किटान गरिएको छ । इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक लुई सँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबु–छोराले उनलाई सहयोग पुर्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहींबाट शक्तिको दुरुपयोग गरी उक्त सुन लिलाम गरी बिक्री गर्नेसम्मको योजना थियो । प्रहरीले कल डिटेल रेकर्ड सहित बाबु–छोराको विवरण मात्रै खुलाएर अन्य आरोपित माथि गत असार २७ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिसकेको छ । त्यसको एक महिना बितिसक्दा समेत प्रहरी, गृह प्रशासन र अभियोजन गर्ने निकायले उनीहरू माथि सामान्य सोधपुछ समेत गरेका छैनन ।
यसले अनुसन्धानकारी निकाय माथि थप शंका उत्पन्न गर्ने सरकारका एक मन्त्रीको भनाइ छ । महरामाथि छानबिन हुनैपर्ने दुई आधार उनले औंल्याए । ‘पहिलो त प्रधानमन्त्री तथा गृहमन्त्रीले भ्रष्टाचारका सबै फाइल खोतल्ने र दोषी देखिए कसैलाई पनि नछाड्ने भन्ने उद्घोष गरिसकेका छन् । भ्रष्टाचारविरुद्धको नेतृत्व उनीहरूले गरेको हो भनेर दाबी गर्ने र जस लिने हो भने महरालाई पनि उन्मुक्ति दिन मिल्दैन,’ ती मन्त्रीले भने, ‘दोस्रो आधार, हाल विभिन्न आरोप लागेका अन्य नेता भटाभट पक्राउ परिरहेका छन् । अनुसन्धान गर्दै जाँदा महरा निर्दोष देखिन सक्लान । त्यसो भए त तस्करसँग संलग्नता देखिइसके पछि सरकारले झन् चाँडो अनुसन्धान गरेर मुद्दा किनारा लगाउनुपर्ने होइन र ।
सुन तस्करीमा महराको नाम जोडिएपछि प्रधानमन्त्री दाहालले गृहमन्त्री श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सीआईबी प्रमुख किरण वज्राचार्यसँग छलफल भने गरेका थिए । ‘तर उनीमाथि अनुसन्धान गर्नु भनेर स्पष्ट निर्देशन भने दिएनन्,’ स्रोतले भन्यो, ‘त्यसका बाबजुत भेप प्रकरणमा अदालतमा मुद्दा दायर भए पनि अनुसन्धानको बाटो खुलै रहेकाले यो विषय अझै पनि सीआईबीले सूक्ष्म रूपमा हेरिरहेको छ ।’
गृहमन्त्री श्रेष्ठ भने सीआईबीले अनुसन्धान गरिरहेको बताउँछन् । ‘निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न निर्देशन दिइएको छ । सीआईबीले अनुसन्धान गरिरहेको पनि होला,’ उनले भने, ‘दोषी देखिए जोसुकै परुन् कारबाहीको दायरामा आउनुपर्छ, आउँछन् । अनुसन्धान क्रममा जो पर्छन् परुन्, व्यक्ति को हुन् भनेर हेरिएको छैन ।’
महरा सुन तस्करसँग जोडिएका समाचार बाहिरिएपछि सत्ता र शक्तिको आडमा छानबिन नगरेको भन्दै सरकारमाथि चौतर्फी आलोचना भइरहेको छ । सरकारमा भएका दलका शीर्ष नेता जोडिएको विषयमा अनुसन्धान र अभियोजन पनि नहुने, सम्बन्धित दलबाट पनि सोधपुछसम्म नहुनुले प्रहरी, गृह प्रशासन र अभियोजन गर्ने निकायकै निष्पक्षतामा प्रश्न उठेको छ । महराको सम्बन्धमा माओवादी पार्टीबाट समेत प्रश्न उठेको छैन । पूर्वसभामुख तथा सत्तारूढ माओवादी प्रवक्ता अग्नि सापकोटाले यस विषयमा आफूले पार्टीमा बुझेर मात्रै भन्न सक्ने प्रतिक्रिया दिए । ‘म हालै नयाँ जिम्मेवारीमा आएको छु । यस विषयमा बुझ्न पाइसकेको छैन,’ उनले भने, ‘अहिले कुरै नगरौं, बुझेर मात्रै भन्न सकिन्छ ।’
सरकारी वकिल कार्यालयले भने यो प्रकरणमा अनुसन्धानको काम जीवित नै राखेर तथ्य र प्रमाणले देखिएका व्यक्तिमाथि मुद्दा चलाइएको जनाएको छ । सुन भित्र्याउने तीन जना चिनियाँ फरार रहेका कारण उनीहरूलाई कानुनी दायरामा ल्याउँदा हाल निगरानीमा रहेका अरू व्यक्तिमाथि थप अनुसन्धान अघि बढाइने कार्यालयको भनाइ छ ।
यसैगरी पूर्व सभामुख कृष्णबहादुर महाराले मंगलवार दांगमा पत्रकार सम्मेलन गर्दै सुन प्रकरणमा आफनो नाम मुछिएपछि सरकारद्धारा गरिने अनुसन्धान कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन