उपेन्द्र यादवले महन्थ ठाकुर पक्षलाई घरको न घाट बनाउने अभियानमा सफल बन्दै

   २६ असार २०७८, शनिबार ०८:२९  

तराई टप संवाददाता
काठमाडौं, २६ असार । महन्थ ठाकुर नेतृत्वको तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल दर्ताको लागि हरिनारायण यादवले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।
ठाकुर र उपेन्द्र यादव विच पार्टीमा विवाद चुलिदै गएको एवं कुनै पनि वेला औपचारिक रुपमा अलग हुने अवस्थामा धनुषाको हरिनारायण यादवले आफनो अध्यक्षतामा राजपा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
जसपा नेपालको आधिकारिकता उपेन्द्र यादवको तर्फ जाने सम्भावना बढि रहदा ठाकुर पक्षका नेताहरुले अरु कसैको नामबाट राजपा नेपाल दर्ता गराउने तयारी गरिरहेकै वेला धनुषाको हरिनारायणले निर्वाचन आयोगमा राजपा नेपाल नामबाट निवेदन दिएपछि ठाकुर पक्षका नेताहरु अलमलमा परेका छन् ।
महन्थ ठाकुरलाई जसपा नदिने र उनको पूर्व पार्टी राजपा पनि रहन नदिने भन्दै हरिनारायण यादवको नामबाट अध्यक्ष उपेन्द्रले आजै राजपा नेपाल दर्ता गर्न लगाएको स्रोतको दाबी छ । समाजवादी पार्टी र राजपा मिलेर जसपा बनेको थियो । २०७७ असार २४ गते निर्वाचन आयोगमा जसपा दर्ता भएको थियो । एकीकृत भएको पार्टी एक वर्षसम्म कसैले दर्ता गराउन नपाउने प्रावधान रहेको छ । हिजो एक वर्ष पुरा नहुने वित्तिकै उपेन्द्र यादवले हरिनारायण यादवलाई अध्यक्ष राखेर राजपा दर्ता गराएका हुन् ।
उपेन्द्र यादव निकट एक नेताले भने, ‘हरिनारायण यादव जसपाकै कार्यकर्ता हुनुहुन्छ उहाँलाई भनेर पार्टी दर्ता गर्न लगाएको हो ।’ तर हरिनारायण यादवले उपेन्द्र यादवले भनेर पार्टी दर्ता नगराएको बताए । उनी भन्छन्, ‘मलाई कसैले भनेर पार्टी दर्ता गराएको होइन, हामी केही साथी मिलेर मधेशमा नयाँ ढंगको राजनीति विकास गर्न यो पार्टी दर्ता गराएको हुँ ।’
अहिले एकजना अध्यक्ष सहित २१ सदस्यीय कार्यसमिति बनाइएको भन्दै यसलाई विस्तारै विस्तार गर्दै जाने हरिनारायणले बताए । राजपा हरिनारायण यादवको नाममा दर्ता भएपछि जसपाको आधिकारिकता नपाएको अवस्थामा महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गराउनुपर्ने हुन्छ । राजपाको छाता छाप जसपासँग छ । राजपाको चुनाव चिन्हका लागि पञ्जा छाप माग गरिएको छ ।
को हुन् हरिनारायण यादव ?
हरिनारायण यादव पूर्व संघीय समाजवादी फोरम नेपालका प्रदेश २ का सदस्य हुन् । उनी मधेशी जनअधिकार फोरम नेपालदेखि नै उपेन्द्र यादवको साथमा काम गर्दै आइरहेका थिए । मधेश आन्दोलनका चिरपरिचित नाम हो हरिनारायण यादव ।
उनी पछिल्लो समय तत्कालिन समाजवादी पार्टीको प्रदेश २ समितिको कार्यसमितिमा सदस्यका लागि चुनाव लडेका थिए तर उनी चुनाव हारेका थिए । प्रदेश समितिमा चुनाव हारेपछि पार्टीको कुनै पोस्टमा गएनन् ।
उनी निश्कृय जस्तै थिए । जसपा नेपाल बनेपछि समायोजनको क्रममा उसलाई पार्टीमा कुनै जिम्मेवारी दिने तयारी भइरहेको थियो ।
उनी उपेन्द्र यादवकै सम्पर्कमा थिए । उनी धनुषा लक्ष्मीनिया गाउँपालिका सोहनीका बासिन्दा हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै