चन्द्रयान ३ को अनुसन्धानबाट नेपाललाई पनि फायदा पुग्ने विज्ञहरुको विश्वास

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले चन्द्रमाको साउथ पोलमा चन्द्रयान ३ लाई ल्याण्डींग गराएर विश्व किर्तिमान स्थापित गर्न सफल भएको छ । चन्द्रयान ३ का विक्रम ल्याण्डर र त्यसको रोबरले दैनिक रुपमा नयाँ नयाँ चन्द्रमाको तथ्यलाई पत्ता लगाइरहदा भारतको सफलताबाट नेपाललाई पनि धेरै फायदा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
भारतले चन्द्रयान-३ लाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेसँगै पाएको सफलताले नेपाली वैज्ञानिक लगायत अन्तरिक्षबारे अध्ययन अनुसन्धान गर्नेहरूलाई पनि यो विषयमा ज्ञान आर्जनका लागि निकै फाइदा पुग्ने विज्ञहरूले बताएका छन्।
अहिलेसम्म कुनै देश पुग्न नसकेको चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेपछि भविष्यमा अन्तरिक्षसम्बन्धी थुप्रै अध्ययन हुनसक्ने भन्दै यसबाट प्राप्त हुने डेटा विश्लेषणका लागि उपयोगी हुने त्रिभुवन विश्वविद्यालयको इस्टिट्युट अफ साइन्स एन्ड टेक्नोलोजीका डिन तथा प्राध्यापक डा. विनिल अर्याल बताउँछन्।
“अन्तरिक्ष अभियानमा भारतले योजना अनुसार जसरी यान नै पुर्याउन सक्यो त्यसले भारतको मात्रै होइन यो क्षेत्रकै क्षमता अभिवृद्धि भएको हो। यो हाम्रो लागि पनि अत्यन्तै खुसीको कुरा हो,” अर्यालले बताए।
चन्द्रयान प्रक्षेपणमा अवधारणागत रूपमा भारतको साझेदार रुस रहे पनि प्रविधि विकासमा यो भारतमै निर्मित भएकोले यसको छुट्टै महत्त्वका साथ मूल्याङ्कन गरिनुपर्ने उनी बताउँछन्।
एस्ट्रोफिजिक्स अध्ययन गर्ने र यसबारे विभिन्न कार्यक्रममा भारतको इसरोमा नेपाली प्राध्यापकहरू र विद्यार्थीहरू पनि अब्जरभेटरीहरूमा सिक्न जाने गरेकाले यो नेपालीका लागि महत्त्वपूर्ण रहेको अर्याल ठान्छन्।
“चन्द्रमाको सतहको अध्ययनमा नेपाली केही विज्ञ र धेरै विद्यार्थीहरू संलग्न छन्। त्यसैले डेटा विश्लेषणलाई लिएर हामी एकदमै उत्साही बनाएको छ,” उनले भने।
चन्द्रमाको सतहका उच्च स्तरका तस्बिरहरूबाट डेटाको विश्लेषण गर्ने काममा नेपाल र भारतमा गरी गएको पाँच/सात वर्षमा १२ जना जति विद्यार्थीहरू संलग्न भएको बताइन्छ।
इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन, इसरोको स्थापनाकै बेलादेखि उसले गरेका कामहरूबाट भएका उपलब्धि नेपाली अध्येताहरूलाई उपयोगी पाठ हुने विज्ञहरू बताउँछन्।
भारतसँग ज्ञान हासिल गर्ने पहल गर्न आवश्यक
भारत चन्द्रमामा पुग्दा उसले त्यहाँ गर्ने विभिन्न अनुसन्धानहरू र त्यसको प्रक्रिया नेपाललाई ज्ञान आर्जन र तथ्याङ्क विश्लेषणका लागि फाइदा पुग्ने अर्का विज्ञ डा. नन्दविक्रम अधिकारी बताउँछन्।
“वैज्ञानिक अध्ययनका लागि रोचक रहेको चन्द्रमाको दक्षिणी भेगमा भएको सफ्ट ल्यान्डिङ साँच्चै ऐतिहासिक हो र यसमा काम गरिरहेका र चासो भएकालाई यो साँच्चै ठूलो उपलब्धि हो,” अधिकारी भन्छन्।
“हामी चन्द्रमामै पुग्न नसके पनि हामीले भूउपग्रहको अध्ययन गरिरहँदा हामीलाई ज्ञानमा मद्दत गर्छ।”
नेपालको वैज्ञानिक र इन्जिनियरिङ समाज चन्द्रयान-३ ले पठाउने विवरणबाट अध्ययन अनुसन्धान गर्न पर्खेर बसिरहेको भन्दै उनले त्यसले फाइदा पुग्ने बताए।
“भारतको चन्द्रयान-३ मा प्रयोग भएको सेन्सर, प्रविधि, एल्गोरिदम, इन्जिन, इफ्युजनलगायतको कुराको ज्ञान लिन हामीले इसरोलाई पहल गर्नुपर्छ। ज्ञान पनि नजिकबाट लिन पाउनु र टाढा गएर लिनुमा फरक पर्छ जस्तो लाग्छ,” उनले भने।
“ज्ञानका लागि हामी तिर्खाएका छौँ भने हामीले नै कुवा धाउने हो। छिमेकमै यो तहको ज्ञान छ, प्रविधि छ भने हामी सबैभन्दा नजिकको छिमेकीको हिसाबले स्पेस डिप्लोमेसी अगाडि बढाउनुपर्छ, ” डाक्टर अधिकारीले भने।
तर त्यसको सञ्चालनका लागि एउटा ‘अपरेटर संस्था’ बन्नुपर्ने र भूउपग्रहको खरिद प्रक्रिया सुरु हुने उनले बताए।
“भूउपग्रह पृथ्वीको कक्षमा राखेपछि २४ घण्टा नै सञ्चालन गर्नका लागि त्यसको निरन्तर अध्ययन गर्ने निकाय गठन गर्नुपर्छ,” उनी भन्छन्।
“हामीले आफ्नो आवश्यकता अनुसारको डिजाइन गरेर २२/२४ महिनामा भूउपग्रह राख्न सक्छौँ।”
भारत चन्द्रमा पुगिसक्दा नेपाल पृथ्वीमै केही सय किलोमिटरमाथि रहेको स्लटमा भूउपग्रह राख्न सङ्घर्षरत रहेको अवस्थामा भारतको अन्तरिक्ष अभियानसँग नेपालको अभियानको कुनै तुलना हुनसक्छ?
त्यसको जवाफमा खनाल भन्छन्, “भारतले चन्द्रयान अवतरण गराउँदा हामी अन्तरिक्ष अभियानको क, ख, ग,,,, कै अवस्थामा छौँ। अहिले हामीले गरेको भनेको अरू देशले राखेका भूउपग्रहको सेवा लिइरहेका हौँ। र, आफ्नै भूउपग्रह राख्न प्रयासरत छौँ।”
भारत करिब चार लाख किलोमिटरको दुरी पार गरेर चन्द्रमामा पुग्दा नेपाल भने पृथ्वीको करिब चार सय किलोमिटरभन्दा पनि कम दुरीमा रहेको ‘अर्बिटल स्लट’ मा भूउपग्रह पुर्याउन विगत ४ वर्षदेखि सङ्घर्षरत रहेको विज्ञहरू बताउँछन्।
भारतले गरिरहेको चन्द्रमाको दक्षिणी ध्रुवको अध्ययनलाई विश्वका शक्तिराष्ट्रहरूले पनि ठूलो सफलता मानेका छन्। भारतको उक्त सफल प्रयासका लागि विश्वभरिबाट बधाई दिइएको छ। बिबिसी बाट