धरानमा हिन्दु आस्था माथि प्रहार किन ?

   भदौ १४, २०८०  
88 Shares

मेयर हर्क साम्पाङले आफ्नो विवादित टिप्पणीलाई निरन्तरता दिएका छन्। पछिल्लोपटक उनले ‘भाइ टीका’ कुन धर्मको पर्व हो भनेर आफूलाई थाहा नभएको बताएका छन्। सबै धर्मको चाडपर्व हरेक व्यक्तिलाई थाहा नहुन सक्छ । तर नेपाल बस्नेलाई फागु, दसैं, तिहार र भाइटीका कुन धर्मको चाडपर्व हो भन्ने जानकारीसमेत नहुनु साँच्चै अनौठो लाग्छ।

पदीय मर्यादा र आचरण विपरीत मेयर साम्पाङले हिन्दु धर्म लक्षित विवादित बयान, टिप्पणी र गतिविधि बढ्दो क्रममा रहेको देखिन्छ। यसअघि एउटा पार्टी प्यालेसको नामबाट स्वीकृत प्राप्त गरेर मन्दिर अगाडि नै सडक अतिक्रमण गर्दै चर्च निर्माण गर्न सघाएका कारण उनी विवादित भएका थिए। त्यसबखत इसाइले किरात र हिन्दूलाई धार्मिक द्वन्द्वका लागि उक्साउन मन्दिर अगाडि चर्च खडा गराएको आरोप लगाइएको थियो।

केही दिन नबित्दै धरानबाट गोरुलाई काटेर सामूहिक भोज गरिएको भिडियो सार्वजनिक भयो। योसँगै आफैंले पालेको गाई–गोरुलाई काटेर उपभोग गर्न पाउनुपर्ने मागसहितको ज्ञापनपत्र वाचन कार्यक्रम मेयर साम्पाङको कार्यालयमै भएको भिडियोसमेत सार्वजनिक भयो।

यसरी मेयर साम्पाङले हिन्दु आस्थाप्रति गम्भीर र आक्रमक शैलीयुक्त घृणा फैलाउन खोजेको देखियो। स्वाभाविक परिणामको रुपमा भदौ ९ गते समग्र हिन्दु समाजबाट प्रतिक्रिया जनाउन धरान उपमहानगरपालिका केन्द्रित शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रम आयोजन गरिएको थियो। जसलाई रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दै नागरिकको स्वतन्त्र भेला हुनसक्ने अधिकारलाई कुण्ठित गरेर हिन्दु समाजको समवेत स्वरलाई रोक्न खोजे पनि देशभर नै प्रतिक्रिया जनाइएको थियो।

विगत केही समयदेखि हिन्दुत्वप्रति वितृष्णा उत्पन्न गराउन र धर्मनिरपेक्ष संविधानको आवरणभित्र चलाइएको घृणावादलाई पक्षपोषण गर्न कतिपय मिडिया र व्यक्तिगत तवरबाट पनि अभियान सञ्चालन गरिएको पाइन्छ।

हिन्दुत्व आधारित चाडपर्व र हिन्दु धर्मबारेको प्रवचनलाई अवरोध गराउन वा विवादित बनाउन सक्रिय ढङ्गबाट अभ्यास गरिदैछ। नेपाल भ्रमणमा आउनुभएका आचार्य धीरेन्द्र कृष्ण शास्त्रीलाई यसैगरेर विवादित बनाउन खोजेको थियो। बागेश्वर धामका संस्थापक धीरेन्द्र शास्त्रीको प्रवचनविरुद्ध केही निश्चित व्यक्तिबाट षडयन्त्र भइरहेको देखिन्थ्यो।

सनातन धर्म संस्कृतिविरुद्ध लामो समयदेखि योजनाबद्धरुपमा तयार शास्त्रीको नेपाल आगमनलाई ‘अतिवादको आतंक’ भनेर व्याख्यासमेत गरे।

आचार्य धीरेन्द्रको कडा विरोध गर्नुको पछाडि वास्तवमा धरानमा हिन्दू मन्दिर परिसर निकट चर्च बनाएपछि सुरू भएको विवादले गोरु काटेर सामूहिक भोजको चरणमा प्रवेश गरिरहँदा हिन्दु समाजबाट उत्पन्न प्रतिक्रियाबाट तर्सिएर तथाकथित उदार र प्रगतिशील अभियन्ताको जमातले शास्त्रीलाई रोक्न र हिन्दू समाजलाई ठोक्न संगठित मिसन थियो जुन सफल हुनसकेन।

नेपालमा उदार र प्रगतिशील अभियन्ता देखिन सामाजिक न्यायसहितको प्रमाणपत्र पाउनुपर्छ। जसका लागि सर्वप्रथम हिन्दूत्वलाई भर्त्सना गर्नुपर्दछ। त्योसँगै राष्ट्र निर्माता पृथ्वीनारायण शाह तथा भानुभक्त आचार्य र कविवर माधव घिमिरेसम्मको निन्दा गर्नुपर्छ। तर हिन्दुत्व बारेको धार्मिक अनुष्ठानमा हुने प्रवचनबाट नेपालमा धार्मिक दंगा मच्चिने भनेर आतंक फैलाउन उनीहरूको प्रयासलाई नेपाली समाजले पूर्णरूपेण अस्वीकार गरिदिए।

बेलाबखत हुने गरेको यसप्रकारका कुण्ठित प्रयासको पछाडि धर्म निरपेक्ष संविधानमार्फत धर्मान्तरण अभियान सञ्चालन गर्न गरिएको प्रयासलाई पर्ने व्यवधान प्रतिको प्रतिक्रिया भनेर बुझ्नुपर्दछ। जनगणनाको माध्यमबाट हिन्दु समाजलाई प्रकृतिपूजक, बोन, मस्टो लगायतमा विभाजित गराउन खोजे पनि त्यसमार्फत सफल हुनसक्ने सम्भावना छैन। नामकरण वा पूजा पद्धति फरकफरक भए पनि यस समग्र समाजको आराध्य एउटै हुन्।

किराँत समाजको आराध्य भनेको सुम्निमा र पारुहाङ्गलाई मानिन्छ। पारुहाङ्ग र सुम्निमा मङ्गोलियाबाट आएको हो र ? भगवान शिवको वासस्थान कैलाश पर्वत मङ्गोलिया राज्यभित्र पर्थ्यो र ? प्रष्ट बुझौं, कैलाशबाट किलास हुँदै किरात शब्दको प्रादुर्भाव भएको हुनसक्छ अर्थात् किराँतहरु पनि हिन्दु नै हुन्। उनको मङ्गोलसँग कुनै सामुदायिक साइनो छैन, हुनसक्दैन।

मुन्धुमी लोककथाअनुसार किराँतीको पूर्खा खुवालुङ क्षेत्रबाट बाँडिएका हुन्। त्यसबखत खुवालुङ बन्द थियो । जसलाई पहिलो समूहले जुरेली चराको भोग दिएर खुलाउन सफल भए। चराको रगत परेपछि खुवालुङ खुल्यो र पहिलो समूहले नदी पार गर्यो । लगत्तै दोस्रो समूह आइपुग्यो र आफ्नै चेलीको औंला थोरै चोट पारेर खुवालुङमाथि रगत चढायो ।

खुवालुङ फेरि खुल्यो र उनीहरू पनि कोसी तरेर पहाडतर्फ उक्लिए। यसरी किराँती पुर्खाका थुप्रै समूहले खुवालुङ पार गरे। त्यसरी पारीतिर जानेलाई हर्कबुङ, बुसुरी (भुसुरी), वा छप्पा, छो छाप्पा, रुङ्धितामहरू थिए भन्छन्।

खुवालुङ पार गरेपछि किराँतीहरू आ–आफ्नो बाटो लागे जसअनुसार एउटा समूहले तमोर पछ्यायो, जसलाई अहिले ‘लिम्बू’ भनेर चिनिन्छन्। अर्को समूहले अरुण पछ्यायो, उनीहरूलाई ‘राई’ भनेर चिनिन्छन्।

अर्को समूहले दूधकोसी पछ्यायो, उनीहरू तिलुङ, चाम्लिङ, वाम्बुले, जेरोङ, बाहिङ–बायुङ, बान्तवा, साम्पाङ, दुमी, कोयी–कोयू, कुलुङ, खालिङ, नाछिरिङ र थुलुङ राई भनेर चिनिन्छन्।

मुन्धुमी मिथकले खुवालुङलाई किराँतीहरूको साझा थलोका रूपमा व्याख्या गरेको देखिन्छ। तर उनीहरू मङ्गोलियाबाट आएको भनेर कुनै ऐतिहासिक तथ्यबाट प्रमाणित हुँदैन अर्थात मङ्गोल भनेर छुटाउन खोजेको किराँत र हिन्दु समाजको उद्गमस्थल एउटै हो।

यसरी एउटै समाजबाट निसृत भएकालाई विभाजित गराउन प्रयास किन भैरहेको छन् त ? यसको जवाफ एकदम प्रष्ट छ कि धर्मनिरपेक्ष संविधान बनाउँदा पनि नेपाललाई इसाइकरण गर्न अभियान सफल हुन सकिरहेको छैन।

विगत वर्षको तुलनामा अहिले हिन्दू राष्ट्रको अवधारणासँग हामी अपेक्षाकृत नजिक छौं। समाजले परिवर्तनको यो दिशा र गतिलाई कायम राख्यो भने हाम्रो पुस्ताले यो अवसरलाई आफ्नै आँखाले देख्न सक्छ। तर जब यो अवसर आउँछ, के हामी यसको लागि तयार हुनेछौं ? जब इतिहासले हामीलाई सोध्नेछ– आउनु, अब हिन्दु राष्ट्र बनाऔं। तपाई कस्तो हिन्दू राष्ट्र बनाउन चाहनुहुन्छ ? के त्यसबखतका लागि हामीसँग जवाफ तयार छ ?

हामीमध्ये अधिकांशको लागि आदर्श हिन्दू राष्ट्रको अवधारणा ऐतिहासिक कालखण्डमा निहित छ। हामी सुनौलो युगको परिकल्पना गर्छौं । जब बच्चा गुरुकुलमा पढ्ने गर्दथे, ऋषिहरू वनमा बस्थे, वेदको ऋचा हावामा गुन्जिने गर्थे र मानिसले पुण्य जीवन बिताउँथे। त्यस्तो स्वर्णकाल संभवत पाँचदेखि २५ हजार वर्ष पहिले थियो होला । तर आजको सन्दर्भमा यसको वास्तविक अवस्था सोहीअनुरूप छैन र हुन पनि सक्दैन।

सत्य त यो हो कि हिन्दु सभ्यतागत निद्रामा परेका छन्। त्यसैले हिन्दु राष्ट्र एउटा परिकल्पना जस्तै बनेको छ। यदि हामी जागृत हिन्दू राष्ट्र चाहन्छौं भने त्यो वर्तमानमा जीवित हुनुपर्दछ जसले समकालीन विश्वव्यापी वास्तविकताको सामना गर्दै वर्तमानका चुनौती जित्नुपर्दछ।

यदि हामीले फेरि पहिला कै हिन्दु राष्ट्र बनाउन खोज्यौं भने त्यसलाई एक दशक पनि टिकाउन सकिँदैन। हाम्रो सांस्कृतिक प्रवाहलाई विदेशी अतिक्रमणले अवरुद्ध नगरेको भए पनि हामी जसरी पनि विकसित हुने थियौं ।

हामीले सोच्नुपर्दछ कि अध्यात्म, इतिहास, अर्थतन्त्र र विज्ञानको सन्तुलन मिलाएर कस्तो समाज निर्माण गर्ने हो। कस्ता सम्पदालाई जोगाउनुपर्छ जसको अनुपस्थितिमा हामी आफ्नै अस्तित्व बचाउन सक्दैनौं र कुन विषयलाई छोड्ने हो । जुन बचाउने प्रयासले हाम्रो अस्तित्वलाई समाप्त पार्न सक्छ। यस अतिरिक्त हामीले अन्य सभ्यताबाट पनि सिक्नुपर्छ जसले हामी भन्दा पहिला यस्तै प्रकारका सङ्क्रमणलाई पार गरिसकेका छन्।

हामी जापानको उदाहरण लिन सक्छौँ। युरोपबाट आयातित ईसाई धर्मलाई खतरा मान्दै जापानले संस्कृतिलाई जोगाउनुपर्छ भनेर आफ्नो सबै ढोका बन्द गरे। जसकारण बाहिरको संसारसँग अर्को २५० वर्षसम्म उनको कुनै सम्पर्क रहेन। कुनै विदेशीले जापान प्रवेश गर्न पाएन र कुनै जापानी बाहिर निस्कन सकेन। यो कालखण्डलाई टोकुगावा शोगुनेटको अवधि भनिन्छ।

यसै अवधिमा बाहिरको संसार पूर्ण रूपमा परिवर्तन भयो। युरोपले औद्योगिक क्रान्ति देख्यो, एसिया र अफ्रिकाले उपनिवेशवाद देख्यो। जापान ब्यूँझिदा त परिवर्तनको रापताप उस्को ढोकासम्म पुगिसकेको थियो।

सन् १८५३ मा अमेरिकी कमोडोर पेरीले आफ्नो नौसैनिक जत्थाबाट जापानी तटलाई घेरेर सिमाना खोल्न बाध्य पारे। सारा विश्व आफ्नो बुझाई र पहुँचभन्दा धेरै टाढा पुगिसकेको देखेर समयसापेक्ष ढङ्गबाट आफूलाई परिवर्तन नगर्ने हो भने सिङ्गो एसिया जस्तै औपनिवेशिक दासत्वमा फस्न सक्ने कुरा जापानीले एक्कासी बुझेछ।

कमोडोर पेरीको यो आघातले जापानलाई आफ्नो सभ्यताको निद्राबाट ब्यूँझायो। उनले गुमाएको समयलाई हतारमा क्षतिपूर्ति गर्न शोगुनेटलाई खारेज गर्यो, सबैभन्दा शक्तिशाली समुराई वर्गलाई खारेज गर्यो र संसदीय अभ्यासलाई अवलम्बन गर्दै आधुनिक प्रविधिलाई अंगिकार गर्यो। समयको मागअनुसार समुराईलाई हटाउनुपर्छ भनेर अग्रसर हुने अधिकांश मानिस त्यही समुराई समाजबाट नै थिए। विगत २५० वर्षको कमीकमजोरीलाई अर्को २५ वर्षभित्र पुरा गरेर अहिले जापान पश्चिमा विश्व भन्दा अगाडि आइसकेका छन्।

हामीले पनि परिवर्तनलाई आत्मसात गर्दै जानुपर्छ अन्यथा परिवर्तनले हामीमाथि आफ्नो शक्ति स्थापित गर्नेछन्।

सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनलाई स्वेच्छा र चेतनापूर्वक स्वीकार गर्ने हो भने हामीले आफ्नो हित अनुकूल दिशा निर्धारण गर्न सक्नेछौँ। तर यदि परिवर्तनलाई आँखा चिम्लेर प्रतिरोध गरिरह्यौं भने तिनको प्रवाहले हामीलाई टाढा लैजान सक्छ।

हामीले परिवर्तनसँग लड्नु पर्दैन आफ्नो हित अनुसार अभ्यास गर्नुपर्दछ। तब मात्र वर्तमान र भविष्यमा समेत हाम्रो हिन्दू राष्ट्र जीवित, बलियो तथा समृद्ध रहिरहनेछ। श्रोतः खबरहब

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै