पाकिस्तानमा आठ जना अहमदिया मुसलमाल पक्राउ

कराँची, एजेन्सी । पाकिस्तानमा आफ्नो धर्म र आस्थाको प्रचार गरेको आरोपमा ८ जना अहमदिया सम्प्रदायका मुसलमान पक्राउ परेका छन् । पाकिस्तानको डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार लाहोर सहरको बदामी बाग क्षेत्रमा आफ्नो आस्थाको प्रचार गरिरहेको आरोपमा प्रहरीले ८ जना अहमदिया सम्प्रदायका मुसलमानलाई पक्राउ गरेको हो । समाचारमा जनाइएअनुसार सुरुमा बदामी बाग क्षेत्रमा अहमदिया व्यक्तिको स्वामित्वमा रहेको एक उद्योगमा तहरिक ए लब्बियाक पाकिस्तान नामक संगठनका कार्यकताले आक्रमण गरेका थिए । आक्रमणका क्रममा उद्योगका फर्निचर र केही कलपुर्जा पनि नष्ट भएको थियो । आक्रमणपछि उक्त संगठनका कार्यकर्ताले केही अहमदिया सम्प्रदायका मानिसहरुलाई बन्धक बनाएका थिए । डनका अनुसार पछि घटनाबारे खबर गर्दा प्रहरीले उक्त घटनामा त्यस संगठनका कार्यकर्ता संलग्न नरहेको जनाउँदै अहमदिया सम्प्रदायका मुसलमानलाई आफ्नो आस्थाको प्रचार गरेको आरोपमा पक्राउ गरेको थियो । पाकिस्तानमा ४० लाख अहमदिया मुसलमानहरुको बसोबास छ । पछिल्ला केही वर्षयता पाकिस्तानमा अहमदियाहरुको करिब १५० चिहान भत्काइएको जनाइएको छ ।पाकिस्तानको संविधानले अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न दिँदैन । पछिल्ला केही वर्षयता अहमदियाहरु पाकिस्तानमा हिंसा र लज्जाको सिकार हुँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।