देशभरी श्रीकृष्ण जन्माष्टमी धुमधामका साथ मनाइदै

रौतहट, २० भदौं । भाद्र कृष्ण पक्षको अष्टमी तिथि अर्थात भगवान श्रीकृष्णको जन्म दिनको रुपमा नेपाल सहित विश्वका हिन्दु धर्म संस्कृति मान्नेहरु भव्यताका बुधवार मनाइरहेका छन् ।
हिन्दु वैदिक सनातन धर्मावलम्बीहरुले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइरहेका हुन् ।
जन्माष्टमीको अवसरमा ललितपुर पाटन स्थित मङ्गलबजारमा रहेका प्रसिद्ध कृष्ण मन्दिर देशभरीका कृष्ण मन्दीरहरुमा श्रद्धालु भक्तजनहरुको घुइचो लागेको छ । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ ।
मुलुकको राजधानी सहित देशका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी स्थित कृष्णधामबाट विभिन्न धार्मिक झाँकी सहित शोभायात्रा तथा रथयात्रा निकाल्ने निकालने तयारी गरिएको छ जुन आज दिउसो ३ बजेबाट निस्कने छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
यस पर्वका अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।