यती एयरलाइन्सले १९९९ रुपैयामा काठमाण्डौ सिमरा उडान सुरु गरे

   २१ आश्विन २०७७, बुधबार १५:३६  

सिमरा(बारा), २१ असोज । निजी क्षेत्रको हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले बुधवारदेखि राजधानी काठमाडौं नजिकको सिमरा गन्तव्यमा उडान शुरु गरेको छ ।
कम्पनीले आफ्नो २२ औं वार्षिकोत्सवका अवसरमा घोषणा गरे बमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान शुरु गरेको हो । यो यतीको नवौं र प्रदेश नं २ मा दोश्रो गन्तव्य पनि हो । एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सर्तकता अपनाएर आजदेखि सिमरा उडान शुरु गरिएको जानकारी दिए ।
उनका अनुसार बुधवार नाइन एन एएलएच कल साइन भएको जेटइस्ट्रीम–४१ विमानमार्फत बिहान ९ः१० बजे पहिलो उडान गरेको छ । दोस्रो उडान साँझ ४ः४५ बजे हुनेछ । ‘अब सिमराबाट नियमित रुपले दैनिक दुई उडान हुनेछन् र यात्रुको माग भए उडान संख्या थप गर्न सकिनेछ । उच्च सर्तकता अपनाएर उडान शुरु गरेकाले यात्रुलाई ढुक्क भएर यात्रा गर्न अनुरोध छ’, प्रवक्ता बर्तौलाले भने ।
बुधवार पहिलो दिन काठमाडौं–सिमरा–काठमाडौं उडान गर्ने यात्रु मध्ये गोलाप्रथा मार्फत एक जनालाई निःशुल्क हवाई टिकट उपलब्ध गराइने समेत उनले जानकारी दिए ।
यतीले हालका लागि प्रमोशनल भाडा काठमाडौं–सिमरा–काठमाडौंको एकतर्फी रू.१ हजार ९९९ तोकेको छ । यी गन्तव्यको टिकट एयरलाइन्सका सेल्स अफिस तथा मोबाइल एप्स तथा नजिकको ट्राभल एजेन्सी तथा अनलाइन मार्फत लिन सकिनेछ ।
केही दिनअघि आन्तरिक पर्यटन प्रवर्दधनका लागि भन्दै विभिन्न गन्तव्यका लागि न्यूनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले हाल ट्राभल एजेन्सी र मोबाइल एप्समार्फत टिकट खरीद गर्दा आकर्षक उपहार प्राप्त गर्न सकिने योजनासमेत अघि सारेको छ ।
विसं २०५५ देखि सेवा प्रारम्भ गरेको यतीले हाल एटिआर–७२ पाँच ओटा, जेटस्ट्रिम–४१ पाँच ओटा र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार ओटा गरी १४ ओटा जहाज सञ्चालनमा रहेका छन् । यती एअरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा र तुम्लिङटारका साथै काठमाडौं र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै