वार्तामा नबस्ने अडान राख्दै भोली देखि आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघको अडान

रौतहट, २ असोज । नेपाल सरकारले ल्याएको शिक्षा विधेयक प्रति असहमति जनाउँदै बुधबार देखि नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनबाट पछि नहट्ने संकेत दिएको छ ।
शिक्षा विधेयकबाट शिक्षकहरुको अस्तित्व नै संकटमा रहेको हुँदा नेपाल शिक्षक महासंघले कोठमाडौं केन्द्रीत आन्दोलन भोली देखि गर्ने घोषणा गरेपछि शिक्षा मन्त्रालयले वार्तामा आउन आह्वान गर्दा त्यसमा सहभागी नहुने जनाएपछि शिक्षण पेशा अन्यौलमा परेको हो ।
शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर मंगलबार दिउँसो ३ बजे वार्तामा आउन अपिल गरेको थियो । मंगलबार शिक्षा दिवस समारोहमा सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र शिक्षामन्त्री अशोक राईले समेत वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेका थिए ।
शिक्षा मन्त्रालयले गर्ने वार्ताबाट समस्या समाधान नहुने शिक्षक महासंघको निष्कर्ष गरेको छ । महासंघ अध्यक्ष कमला तुलाधार र महासचिव लक्ष्मीकिशोर सुवेदीले विज्ञप्ति जारी गरेर आन्दोलन जारी रहने बताएका छन् ।
विगतमा भएका वार्ता, सहमतिका बुँदाहरु विधेयकमा समावेश नगरी संसदमा पेस गरिएकाले वार्ताको औचित्य नरहेको सुवेदीले गुनासो गरे । महासंघले आन्दोलन तयारीको निर्णय गर्न केन्द्रीय समितिको बैठक डाकेको छ ।
कार्यवाहक प्रधानमन्त्री खड्काले भने संसद्बाट विधेयक सच्याएर उन्नत बनाउने सम्भावना बाँकी नै रहेको बताए । संविधानको व्यवस्था ऐन, नियम बन्नु पर्ने पनि उनले जनाए । शिक्षकहरुले भने स्थानीय तह अन्तर्गत बस्न अस्वीकार गरेका छन् । संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहमा हुने व्यवस्था गरेको छ ।