अण्डरवर्ड डन छोटा राजनका सहयोगी सिसौंदिया पक्राउ

   २ आश्विन २०८०, मंगलवार १७:३०  

अण्डरवर्ड डन छोटा राजनका सहयोगी दिपक सिसौंदिया पक्राउ परेका छन् । मोष्टवाण्टेड सिसौंदियालाई उत्तराखण्डको चम्पावत जिल्ला नजिकै भारत नेपाल सीमा क्षेत्रबाट पक्राउ गरिएको हिन्दुस्तान टाइम्सले जनाएका हुन् ।
भारतका चर्चित पत्रकार जे डे को हत्यामा संलग्न रहेका उनलाई उत्तराखण्ड प्रहरीको स्पेशल टास्क फोर्स (एसटीएफ) ले पक्राउ गरेको छ ।
सिसोदियालाई भारतीय सुरक्षा अधिकारीहरुले नेपालमा लुकेर बसेको बताउँदै आएका थिए । हिन्दुस्तान टाइम्सले एसटीएफका एसपी आयुष अग्रवाललाई उदृत गर्दै सिसौदियालाई चम्पावत जिल्लाको बनवासा स्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जनाएको छ । ‘उनलाई नियन्त्रणमा लिन हामीले एक वर्षदेखि प्रयास गरिरहेका थियौं’, अग्रवालले भनेका छन्, ‘दिपक नेपालमा सेल्टर लिएर बसिरहेका छन् भन्ने सूचना थियो ।’
पछिल्लो समय दिपक नेपालबाट आफ्नो घर आउँदै गरेको सूचना प्राप्त भएपछि आफ्नो टोली परिचालित भएको अग्रवालले जनाएका छन् । ‘आइतबार राति हाम्रो टोलीले उनी हल्वानी आउन लागेको भन्ने सूचना पाए, लगत्तै खटिएको टोलीले उनलाई बनवासा रेल स्टेशन नजिकैबाट पक्राउ गरेको हो’, अग्रवालले भने, ‘थप कानूनी प्रक्रियाका लागि उनलाई मुम्बई पठाउने तयारी भइरहेको छ ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै