गौर अस्पतालमा बेथितीको हद नाध्यो, म्याद गुज्रिएको औषधी विरामीलाई प्रयोग

तराई टप संवाददाता
रौतहट, ४ साउन । सरकारी अस्पतालमा म्याद गुज्रिएको औषधी विरामीलाई दिइरहदा अस्पतालको विश्वसनियता माथि प्रश्न चिन्ह खडा भएको छ ।
उपचारको लागि नभई आर्थिक अनियमितताको लागि प्रसिद्ध रहेको गौर अस्पतालले गैर जिम्मेवारी पनाको हदै पार गरिदिए । म्याद गुज्रिएको औषधी विरामीलाई प्रयोग गर्दा गर्दै विरामीको आफन्तले हेरेपछि खैलावैला मचेको हो ।
मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाईते भई गौर अस्पतालमा उपचार गराउन आएका गौर नपा ४ का ३० बर्षिय अर्नुन पटेललाई उपचारको क्रममा म्याद गुज्रिएको सि प्रोफ्लोक्सासिन १०० एमएलको औषधी प्रयोग गरिरहेको अवस्थामा पटेल परिवारहरुले देख्ना साथ अस्पताल प्रशासनको नियत माथि प्रश्न चिन्ह खडा गर्दै केही वेर सम्म हो हल्ला समेत गरे ।
अस्पतालमा म्याद गुज्रिएका स्टोरमा राखिएको औषधी बिरामीहरुलाई प्रयोग गरेको पिडित परिवारले बताए । आरडिसी नेपाल नामक गैर सरकारी संस्थामा कार्यरत रहेको पटेल मोटरसाइकल दुर्घटनामा परी घाइते हुनु भई उपचारको लागि गौर अस्पतालमा आएका थिए । घाईते पटेलको उपचार जिल्ला अस्पताल गौरमा भइरहेको बेला उपचार कै क्रममा अस्पतालबाट सि प्रोफ्लोक्सासिन १०० एमएल औषधी म्याद गज्रिएको प्रयोग गरेको पटेलका आफन्तले गुनासो गरे ।
मानविय संवेदनशिलताको चरम रुपमा उपहास गर्दै गौर अस्पतालमा विरामीलाई राज्यले उपलब्ध गराइरहेको औषधी समेत म्याद गुज्रिएको दिदा उसको स्वास्थ्य संग समेत खेलवाड गरिएको हुँदा सम्बन्धित निकायले अविलम्ब अस्पताल प्रशासन विरुद्ध कडा कदम उठाउनुपर्ने माग ति परिवारले गरे ।
बिरामीलाई प्रयोग गरेको औषधी सि प्रोफ्लोक्सासिन १०० एमएल गौर अस्पतालमा नै नभएको गौर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्णा साहले दावी गर्नु भएको छ । आफुलाई फसाउनका लागि अस्पतालमा नै नभएको औषधी प्रयोग गरेको आरोप लागेको डाक्टर साहको दाबी छ । तर बिरामीको आफन्तले भने सो औषधी अस्पतालबाटै उपलब्ध गराएर प्रयोग गरिएको स्पष्ट पारे ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.साहले गैर जिम्मेवारी कार्य गरेको भन्दै चिकित्सक र स्टोर प्रमुख रामश्रे मुखियालाई समेत कानुनी कारवाही गर्न सम्बन्धित निकायसँग माग गरे ।