बढी भाडा असुल्ने ३० सवारीसाधन कारवाहीमा, यात्रुको पौने दुई लाख रुपैया फिर्ता

1016 Shares

तराई टप संवाददाता
रौतहट, ५ साउन । नेपाल सरकारद्धारा तोकिएको प्रचलित भाडा दर भन्दा बढी रकम यात्रुहरुबाट लिएकोमा प्रदेश नम्वर २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले ३० वटा सवारी साधनलाई कारवाही गर्दै बढी लिएको रकम यात्रुहरुलाई फिर्ता गराएको छ ।
प्रदेश २ ट्राफिक प्रहरी कार्यालय मातहतका युनिटहरुद्धारा विभिन्न स्थानहरुमा चेकजाँचको क्रममा १८ बस र १२ टाटा सुमो गरी ३० सवारी साधनमा यात्रा गरिरहेको यात्रुहरुबाट निर्धारण गरिएको प्रचलित भाडा दर भन्दा बढी रकम लिएको पाइएपछि ३६० जना यात्रुलाई १७१६९५ रुपैया फिर्ता गराएको उक्त कार्यालयले जनाएको हो ।
सार्वजनिक यात्रुबाहक सवारीले तोकिएको प्रचलित भाडा दर भन्दा बढि लिई संचालन गरेको अवस्थामा यातायात व्यवस्था विभागबाट नेपाल प्रहरीलाई प्रत्यायोजित अधिकार बमोजिम सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६० को उपदफा २ (ख) बमोजिम यात्रु संग लिएको बढि भाडा फिर्ता गराई ७७ हजार रुपैया जरिवाना गरी पहिलो पटक चेतावनी दिदै सवारी साधनलाई छाडिएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका सुचना अधिकृत एवं डिएसपी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।
पर्सा, वारा, रौतहट, सर्लाही, महोत्तरीका अधिकाँश लामो दुरीमा संचालन भईरहेका सवारी साधनहरुले यात्रुहरुबाट सार्वजनिक यात्रुबाहक सवारीले तोकिएको प्रचलित भाडा दर भन्दा १ हजार देखि १५ सय बढि रकम लिएको गुनासो आएपछि मातहतका सवै युनिटहरुलाई नियमित रुपमा चेकजाँचको लागि खटाउदा ३० वटा वस र टाटा सुमोलाई रोकी यात्रुको बढि रकम फिर्ता गराउनुको साथै यातायात ऐनले तोकेको अनुसार जरिवाना तिराई अव उपरान्त बडी भाडा लिएको पाइएमा कारवाही हुने चेतावनी दिई छाडिएको उनले बताए । ट्राफिक प्रहरीको विभिन्न युनिटहरुद्धारा नियमित रुपमा चेकजाँच जारी रहेको हुँदा तोकिएको भन्दा बढि रकम सवारीसाधनको कर्मचारीले लिएमा समयमै यस कार्यालयमा जानकारी गराउन यात्रुहरु संग आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार