सर्लाही, २७ असोज । नेपाल विद्युत प्राधिकरणले लालबन्दी क्षेत्रमा १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्ती गर्न लाग्दा स्थानीयहरुले अवरोध सृजना गरेका छन् ।
धेरै पुरानो भएपछि लालबन्दी क्षेत्रमा १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्ती गर्न लाग्दा स्थानीयहरुले अवरोध सृजना गरेका हुन् ।
४१ वर्षअघि निर्माण गरिएको प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति पाउनु पर्ने, उक्त जग्गालाई बैंक तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन पाउनु पर्ने लगायतका माग राख्दै स्थानीयहरुले लाइनको तार (कन्डक्टर) फेर्ने काममा अवरोध गरेका छन् ।
स्थानीयको अवरोधका कारण असोज १९ गते देखि काम ठप्प भएको छ । नेपाल विद्युत प्राधिकरणले पूर्व–पश्चिम १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता वृद्धि गरी विद्युत् प्रवाह बढाउन मकवानपुरको हेटौंडा देखि धनुषाको ढल्केबर सब स्टेसन सम्मको करिब १३६ किलोमिटर खण्डमा पर्ने कम क्षमताको पुरानो तारलाई फेरेर नयाँ तार राखी प्रसारण प्रणाली सुधार गर्न लागेको छ ।
यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने, पश्चिम क्षेत्रमा उत्पादित विद्युतलाई पूर्वतर्फ थप प्रवाह गर्न सकिने, ढल्केबरबाट पश्चिम तर्फ विद्युत प्रवाहका लागि थप सहज हुने र देशभित्र खपत गरी अतिरित्त भएको विद्युतलाई ढल्केबर सबस्टेसन मार्फत भारत तर्फ निर्यात गर्न सकिन्छ ।
ढल्केबर सबस्टेसन बाट सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसन सम्मको करिब ४० किलोमिटर लाइन मध्ये एउटा सर्किटको करिब ३६ किलोमिटर तार फेरिएको छ । तर, लालबन्दी बजार क्षेत्रका स्थानीयको अवरोधका कारण करिब ४ किलोमिटर तार फेर्ने काम रोकिएको प्राधिकरणले जनाएको छ । तार फेर्ने क्रममा टावरमा जोडिएको पुरानो तार काटेर अस्थायी रुपमा बाँधी राखिएको छ । एउटा सर्किट बन्द हुँदा ढल्केबरबाट पश्चिमतर्फ र हेटौंडाबाट पूर्वतर्फ विद्युत प्रवाह गर्न समस्या हुँदा यसले देशकै समग्र विद्युत् प्रसारण प्रणाली प्रभावित बनाइरहेको बताइएको छ ।
कन्डक्टर बदल्न एउटा सर्किट बन्द गरिएकाले अहिले लाइन क्षमताले नधान्दा ट्रिपिङ लगायतका समस्या आई विद्युत मागलाई व्यवस्थापन गर्ने असहज भइरहेको प्राधिकरणले जनाएको छ ।
आयोजना प्रमुख राजेन्द्र कोइरालाले अवरोधका विषयमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी, लालबन्दी नगरपालिका प्रमुख, प्रहरी प्रमुख, सम्बन्धित वडाध्यक्ष, स्थानीय बासिन्दा लगायतसँग पटक–पटक छलफल गरिए पनि कुनै निश्कर्ष आउन नसकेको बताए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट