गोदाममै खाद्यान्न सामग्री कुहिदा देवाही गोनाहीमा महासंग्राम

1321 Shares

तराई टप संवाददाता
रौतहट, १२ साउन । देवाही गोनाही नगरपालिकाले जनतालाई वितरण गर्न राखिएको चामल गोदाममै कुहिएको विषयलाई लिएर नगरपालिकामा स्थानीय नगरबासीहरुद्धारा मंगलवार ढुंगामुद्धा गरी तोडफोड गरिएका छन् ।
गरिव, असहाय, दलित समुदायका जनतालाई राहत दिन खरिद गरिएको खाद्यान्न सामग्रीहरु लक्ष्ति वर्गलाई वितरण नगरी गोदाममै कुहिएपछि रातिको समयमा खाल्डो खनेर नष्ट गरेको विषयलाई लिएर स्थानीय नगरबासी एवं प्रतिपक्षी दलका कार्यकर्ताहरु ठूलो संख्यामा उपस्थित भई विहानै देखि प्रदर्शन गर्दै नगरपालिकाको कार्यालय देवाहीमा ढुंगामुढा एवं तोडफोड गरेका हुन् ।

वडाध्यक्षको आरोप

कोभिड १९ को दोश्रो लहरको महामारीबाट नगरका गरिव, असहाय, विपन्न वर्ग, एवं मजदुरी गर्ने जनताहरुका लागि नगरपालिकाको आर्थिक सहयोगमा खरिद गरेर भण्डारण गरिएका खाद्यान्न सामग्रीहरु उक्त लक्ष्ति वर्गलाई वितरण नगरी आफ्ना सबै खाद्यान्न कुहिएको तथा खाद्यान्न कुहिएको कुरा अरुले चाल नपाओस भन्दै रातिको समयमा भण्डारण गरिएको संग्रहालयको हाता भित्र जेसिभीले खाल्डो खनेर पुरेको आरोप वडा नम्वर ४ का वडाध्यक्ष रामप्रवेश पटेलले लगाए ।
वडा नम्वर ६ का वडाध्यक्ष अनिल झाले कोभिडको समयमा नगरप्रमुखले आफू खुशी खाद्यान्न सामग्रीहरु खरिद गरेर केही आफना आसेपासेहरुलाई वितरण गरेपछि बाँकी रहेको करिव ५ सय बोरा चामल, दाल लगायतका सामग्रीहरु महिनौं सम्म वितरण नभई गोदाममै कुहिदै जाँदा गन्हाउन थालेको अवस्थामा सोमवार रातिको समयमा खाल्डो खनेर पुरिएको घटनाबाट नगरवासीहरु आहत भएको हुँदा राहत पाउनुपर्ने लक्ष्ति वर्गले राहत नपाउदा उनीहरु विरोध गर्दा मान्छे लगाएर धम्की दिएको प्रतिकारको स्वरुप जनताहरु सडकमा आन्दोलित हुनुपरेको दुखेसो पोखे ।

मेयर धर्मेन्द्र पटेलको दाबी

देवाही गोनाही नगरपालिकाको मेयर धर्मेन्द्र पटेलले कोभिडको समयमा खरिद गरिएका खाद्यान्न सामग्रीहरु राहतको प्याकेट बनाएर २ हजार भन्दा बढि सोही समयमा वितरण गरिसकेको तथा बाकी रहेका चार सय भन्दा बढि बोरा चामल सहितका खाद्यान्न भण्डारण गरिएको संग्राहलयको झ्याल खुलेका कारण पानी परेर चाँग लगाइएको तल्लो भागको बोरामा रहेका खाद्यान्न करिव २० बोरा कुहिएर गन्हाउन थाल्दा त्यसलाई जेसिभीको मद्दतबाट खाल्डो खनेर हिजो साझ पुरिएको बताए ।
अन्य बोरामा रहेका खाद्यान्न सामग्रीहरु अन्तै कोठामा भण्डारण गरी सुरक्षित राखिएपनि उपमेयर परनिया देवीको श्रीमान र पराजित भएका प्रभु साह समर्थक व्यक्तिहरुद्धारा स्थानीयहरुलाई अनावश्यक रुपमा उचालेर आजको घटना घटाएको गम्भीर आरोप लगाए । कार्यालयमा ढुंगामुढा गराएर ठूलो क्षति पुयाएको हुँदा दोषिहरुलाई पहिचान गरी आवश्यक कारवाही गर्न स्थानीय प्रहरी प्रशासन संग माग गरे ।

प्रहरीद्धारा सामान्य बल प्रयोग

खाद्यान्न सामग्री कुहिएको आरोप लगाउदै विपक्षी दलका नेता एवं कार्यकर्ताहरु स्थानीय बासिन्दाहरुलाई उचालेर नगरपालिकाको कार्यालयमा ३० मिनेट सम्म तालाबन्द गर्दै ढुंगा मुढा गर्दा झ्यालका सिसाहरु फुटेको, फर्निचरहरुमा ठूलो क्षति भएको, कम्प्युटर, मोनिटर फुटेको तथा केही कर्मचारीहरु सहित रिपोटिंगमा गएका संचारकर्मीहरु ढुंगामुढाको शिकार भएका छन् ।
देवाहीको अवस्था अत्यन्तै तनावपूण हुँदा जिल्ला प्रहरी कार्यालय गौर सहित विभिन्न युनिटहरुबाट प्रहरी परिचालन गरी भिडलाई नियन्त्रणको प्रयास गर्दा समेत अराजक बन्दै जाँदा प्रहरीले सामान्य बल प्रयोग गरेर भिडलाई तितरवितर पारेको जानकारी इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले दिए । प्रहरीले सामान्य लाठी चार्ज तथा चार राउण्ड टियर ग्यास प्रहार गरेर अवस्थालाई नियन्त्रणमा लिएको बताउदै अहिले देवाही गोनाहीको अवस्था शान्त भएपनि प्रहरी व्यापक संख्यामा परिचालन गरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार