राजनितिक प्रतिशोध साध्नका निमित्त आफताव आलमलाई फसाइयो ः परिवारजनको आरोप

   १५ श्रावण २०७८, शुक्रबार १८:१६  

प्रभातकुमार झा
रौतहट, १५ साउन । राजनितिक प्रतिशोध साध्न सत्ताको बलमा झुठा मुद्दा लगाएर युवा नेता मोहम्मद आफताव आलमलाई जेलमा राखी अन्याय गरेको परिवारजनले गुनासो गरेका छन् ।
“न कुनै साक्ष, प्रमाण, घटना भएको स्थानको मुचुल्का नै नभएको घटनालाई सत्ताको आडमा अतिरंजित बनाई नेपाली काग्रेसका निलम्बीत साँसद आलम विरुद्ध नक्कली साक्षीहरु खडा गराई कैदी बन्दीको जिवन विताउने तत्कालिन ओली सरकारका केही मतियारहरुको कारण आफनो परिवार माथि ठूलो अन्याय गरिएको आलमको छोरा राजिक आलमले गुनासो गरेका हुन् ।”
केन्द्रीय कारागार काठमाडौमा पुर्पक्षका लागि कैदी बन्दीको जिवन विताईरहेका आलमको कान्छो छोरा राजिकले बुबाको मुद्दा न्यायिक नभइ राजनीतिक प्रतिशोध लिने उद्देश्यबाट उत्प्रेरित भएको हुनाले बुबालाई त्यसबेलाको राज्यका सबै निकाय मिलेर योजनाबद्ध ढंगबाट फसाएको गम्भीर आरोप लगाए । स्थानीय स्तर देखि केन्द्रसम्मका विपक्षी पार्टीका नेताहरुको योजनामा झुठा सवुत, प्रमाण, साक्षी, घटना विवरण तयार पारेर आलमलाई जसरी भएपनि सिध्याउनु पर्छ भनेर सबै लागेको दावी गर्दै अदालतबाट उनलाई चाडैनै न्याय पाउने विश्वास व्यक्त गरे ।
“वुवाको मुद्दा न्यायिक भएको भए त उहा त्यही बेला रिहा भइसक्नु हुन्थ्यो, तर उहाँको मुद्दालाई राजनीतिक बनाइएको हुँदा अहिले उहाँ जेल जिवन विताउनु परेको छ । अदालतले चाँडै बुबालाई न्याय दिन्छ भन्नेमा म र हाम्रो परिवारलाई पुरा विश्वास छ” उनले भने ।
पहिलो संविधान सभाको पूर्व सन्ध्या अर्थात २०६४ चैत २७ गते साँझ ७ बजेको समयमा तत्कालिन राजपुर फरहदवा गाविस तथा हाल राजपुर नगरपालिकाको राजपुर स्थित नेपाली काँग्रेसका नेता शेख इतिसको गोठमा निर्वाचनलाई लक्षित गरेर बनाउदै गरेको बम बिस्फोट हुँदा घाइते भएकाहरुलाई उपचार गर्नुको सट्टा जिउदै इट्टाभट्टामा जलाएको आरोप निलम्बीत साँसद आलम माथि लागेको छ ।
हाल उनी रौतहट जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि केन्द्रीय कारागार काठमाडौँमा रहेका छन् । प्रहरीले आलमलाई २०७६ असोज २६ गते गौर नजिकैको शेख इद्रिस गेटबाट पक्राउ गरेका थिए । आलम गत प्रतिनिधि सभाको निर्वाचनमा रौतहट क्षेत्र नम्बर २ बाट १८ हजार ८३३ मत ल्याएर विजयी भएको थियो ।
दुई तिहाई बहुमतको ओली सरकार ढलेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन संगै आलम चाँडै छुट्ने चर्चा परिचर्चा लगेका छन् । गत फागुन १९ गते रौतहट गढीमाई नगरपालिकाको धरमपुरमा विष्णुपुराण महायज्ञको उदघाटन गर्न आएका नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले पूर्व मन्त्री एवं रौतहट क्षेत्र नम्वर २ बाट प्रत्यक्ष निर्वाचित सांसद आलमलाई चिन्ता नलिई धैर्य गरेर बस्न आग्रह गरेका थिए । उनले आलमलाई छुटाउन आफू लागिरहने प्रतिबद्धता व्यक्त गर्दै परिस्थिति अनुकुल भए आलम छुट्ने दाबी गरेको थियो । हाम्रा केही साथी जेलमा हुनुहुन्छ, म उहाँलाई छुटाउन लागि रहनेछु, अदालतको कुरा हो, धैर्य राखेर चिन्ता नलिइ बस्नुभयो भने भोलिका दिनमा परिस्थिति बदलिन्छ, त्यसपछि राजनितिक मुद्दलाई विश्राम दिइ उनलाई छुटाउने प्रयास गरिने बताउनु भएका थिए ।
देउवाले भनेजस्तै अहिले परिस्थिति फेरिइसकेको छ, उनकै नेतृत्वमा सरकार बनेको छ, रौतहटका काँग्रेसीहरुमा अब आलमको मुद्दा चाँडो छिनोफानो हुने र उनी रिहा हुने ठूलो आशा पलाएको छ, शेर बहादुर देउवा प्रधानमन्त्री बनेपछि राजधानीबाट प्रकाशित हुने केही मिडियाले उनको भनाईलाई आलम संग दाँजेर समाचार प्रकाशित गरिसकेका छन् ।
देउवा प्रधानमन्त्री भएको दिन आलमको क्षेत्रमा उनका शुभचिन्तकहरुले आतिसवाजी गर्दै उत्सव र दीपावली गरेका थिए । अन्य कँग्रेसीहरु जस्तै आलमका परिवारका सदस्यहरुले अदातलबाट आलम निर्दोष सावित हुने र चाडै रिहाइ हुने आश व्यक्त गरेका छन् ।
आलमका भान्जा डाक्टर कौशर आलमले बम काण्ड नै नघटेको दाबी गर्दै केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले नियतवस मामालाई झुठा मुद्दा लगाएर फसाएको गम्भीर आरोप लगाए । उनले आलमको लोकप्रियता, जनतामा विश्वास एवं उनको निर्भिक्ताबाट आत्तिएर विपक्षीहरु डराई जसरी भएपनि फसाउने रणनितिक कुटिल चालको कारण उनलाई फसाइएको दाबी गरे । जिउदो मानिसलाई इट्टाभट्टामा हालेर जलाएको कुनै प्रमाण छैन, कयौं पटक इट्टाभट्टाका खरानी लगेर परिक्षण गरिदा मानविय अवशेष फेला नपर्दा पनि राजनितिक जालझेलमा पारी फसाउने नाटक मात्रै गरिएको हुँदा आलम परिवार यतिखेर राज्यबाट पिडित बनेका छन् ।
भान्जा आलम भन्छन्, सत्यको जित ढिलो भएपनि अवश्य हुन्छ, अदालत प्रति हाम्रो पूर्ण निष्ठा र विश्वास छ चाँडै फैसला भई मामा कारागारको वन्दी जिवनबाट मुक्ति पाउने विश्वास व्यक्त गरे । केही व्यक्तिहरु अझै उनको वारेमा अनेक भ्रामक कुराहरु गरिरहदा हामीहरु त्यस्ताको पछि नलागी सत्यको पछि लाग्ने अटुट संकल्पित रहेको बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै