नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि चीन संग सीमा जोडिएका जिल्ला हुम्लामा पुगेर नेपाली भुमि चिनियाँ अतिक्रमणको चपेटामा परेको कुरा उठाएर पुरातनवादी सत्ता सोचमा ग्रसित रहेका नेताहरुलाई खुर्सानी दलेको यतिखेर आभास भईरहेका छन् ।
२०८० साल असोजको २४ गते हुम्लाको सिमिकोट पुगेका नेपाली काँग्रेसका पूर्व उपसभापति तथा पूर्व गृहमन्त्री निधि कात्तिक १ गते हुम्लाबाट काठमाडौँ फर्किएका थिए । हुम्लाको साता दिनको बसाईको क्रममा असोज २७ मा कैलाश र मानसरोवरको टाढैबाट दर्शन गरेका थिए ।
भ्रमणको क्रममा उनले हिल्सा बोर्डरमा स्थानीय बासिन्दाले भोग्नु परेको समस्या र सीमा क्षेत्रको सुरक्षाका लागि सरकारले गर्नुपर्ने कामहरूको बारेमा जानकारी लिएका थिए ।
निधिले प्रमुख जिल्ला अधिकारी, सीमा सुरक्षा बलमा खटिएका प्रहरी अधिकृत र अन्य सरकारी अधिकारीहरूसँग सीमा विवादबारे छलफल गरे ।
हिल्साको सीमा क्षेत्रमा चीनको तर्फबाट नेपाली भूमिमा लगाइएको तारबार हटाई सीमा सम्बन्धी विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार लाग्नुपर्ने स्थानीय अधिकारीहरूले निधिसँगको भेटमा भनेका थिए । सीमा सम्बन्धी विवादलाई समाधान गर्न सदनमा आवाज उठाउने र सीमा सुरक्षाका लागि आवश्यक सरकारी प्रबन्ध जुटाउने पहलमा आफू लागिपर्ने नेता निधिले बताए ।
सोही क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले सीमा क्षेत्रको समस्या समाधानमा सरकारले बेवास्ता गरेको गुनासो गरे । कर्णाली प्रदेशका सांसद समेत रहेका शाहीले निधि नेतृत्वको ४० जनाको टोलीलाई सीमा अतिक्रमण बारे जानकारी दिएको बताए । हुम्लामा सात दिन बस्दा अतिक्रमण आफूहरूले आँखाले देखेको निधिको दाबी छ ।
चीनले सीमा स्तम्भहरुमा गडबडी गरेर नेपालको भूमि अतिक्रमण गरेको नेता शाहीले दाबी गरे । सीमा स्तम्भ नम्बर ९ हिल्सामा भए पनि दशगजा खाली नगरी चीनले गेट बनाएको उनको भनाइ थियो । शाहीका अनुसार दशगजा खाली राख्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता नै छ । ‘सीमास्तम्भ नम्बर ८–१ नेपाल र ८–२ चीनतर्फ छ । त्यस्तै ७–१ नेपाल र ७–२ चीनतर्फ छ । त्यसरी नै सीमास्तम्भ नम्बर ६–१ नेपाल र ६–२ चीनतर्फ हुनुपर्ने हो । तर ६–१ सीमास्तम्भ चीनले आफ्नो तर्फ पारेको छ । यो स्पष्ट सीमा अतिक्रमण हो,’ उनी भन्छन् ।
शाहीका अनुसार सीमास्तम्भ नम्बर ५–२ मा एकातिर नेपाल र अर्कोतिर चीन लेखिएको छ । ‘२०४५ साल लेखिएको यो सीमास्तम्भ त्यहाँ उल्लेखित भाषा हेर्दा दुई देशको बीचमा हुनुपर्ने हो । तर, सीमास्तम्भ चीनले आफ्नो भूमिमा राखेको छ । सीमास्तम्भ नम्बर ५–१ र २ नजिकको जंगे सीमास्तम्भ ढलेको अवस्थामा छ,’ शाहीले भने ।
त्यतिबेला तीनकोठे भवन बन्ने बेलामा पनि प्रश्न उठेको थियो । शाहीका अनुसार आफूहरूले विरोध गर्दा चिनियाँहरूले यो पशु क्वारेन्टिन भन्दै दुबै देशले प्रयोग गर्न मिल्छ भनेका थिए । ‘अहिले त्यही स्थानमा नौ वटा भवन बनाएका छन्, जुन नेपाली भूमिमा पर्छ,’ शाहीको बिफ्रिङ थियो ।
यस्तै हुम्लावासीले कैलाश र मानसरोवरमा विना भिसा जान पाउनुपर्ने माग राखेको निधिले बताए । ‘पहिले कैलाश र मानसरोवर नेपालकै बाटोबाट जान सकिन्थ्यो । अहिले भिसा लिएर मात्र जान पाइन्छ । हुम्लाका लाप्चा र हिल्सा चीनसँग जोडिएका दुई वटा नाका हुन्,’ उनी भन्छन्, ‘लाप्चा र लासाबाट नै कैलाश पर्वत र मानसरोवरको दर्शन गर्न सम्भव होस् भनेर म सरकारसँग माग गर्दै छु ।
यस्तै सीताको भूमिका जनकपुरवासीलाई कैलाशको धार्मिक र सांस्कृतिक यात्रा गर्न निधिले सुझाव दिए । ‘जनपुरलाई कैलाश पर्वत र मानसरोबारलाई जोडनका लागि जनकपुरवासी सक्रिय हुनुपर्दछ । मधेस प्रदेशको सरकार पनि सक्रिय हुनुपर्दछ,’ उनी भन्छन् ।
श्रोतः एसीपी न्यूज
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन