शुक्रबार मध्य राति गएको भूकम्पमा परेर जाजरकोट र पश्चिम रुकुममा गरी १२८ जनाको मृत्यु भएको छ भने १४० जना घाईते भएका छन् ।
जाजरकोटमा ६.४ म्याग्नीच्यूडको भुकम्पमा परेर उपमेयर सरिता सिंह सहित ९२ जनाको मृत्यु भएको तथा ५५ जना घाइते भएको नेपाल प्रहरीका प्रवक्ता एवं डिआजी कुवेर कडायतले जानकारी दिए ।
भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए । प्रवक्ता कडायतले भने, ‘सुर्खेतबाट विहान ४ बजे उद्धार टोली खटिएको छ, मेडिकल टोली र विपद् व्यवस्थापनको टोली समेत तयारी अवस्थामा छ ।’
भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए । यस सँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा उपचार गर्ने समुचित व्यवस्थापनको अभाव छ, भुकम्पको कारण बाटो अवरुद्ध भएको छ, विहानै देखि अवरुद्ध सडक खुलाउने युद्धस्तरमा कार्य भईरहेका छन् । हरेक क्षेत्रबाट जाजरकोट र पश्चिम रुकुममा मानविय सेवा गर्न विभिन्न संघसंस्थाहरु जाने क्रम जारी रहेको खवर प्राप्त भएका छन् ।